काठमाडौँ
केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूूषण बिगँ्रदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ ।
स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ ।
शनिवार देशका विभिन्न स्थानको वायुको गुणस्तर निकै बिग्रेको देखिएको छ । वातावरण विभागको वायु गुणस्तर मापनअनुसार सबैभन्दा बढी वायु प्रदूषणको स्तर सिमरामा बिग्रिएको छ ।
सिमरामा १९५ एक्यूआई रहेको छ भने विराटनगरमा १९४, पोखरामा १८९ एक्यूआई रहेको छ ।
काठमाडौंको कीर्तिपुरमा १६९, रत्नपार्कमा ११५, धनगढीमा १५९, जनकपुरमा १२२ एक्यूआई रहेको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डले एक्यूआई ५० सम्म भएको वायु स्वास्थ्यका लागि स्वस्थ भएको मानिन्छ । एक्यूआई १०० भन्दा माथि उक्लेपछि त्यस्तो वायु अस्वस्थ मानिन्छ । विश्व स्वास्थ्य संगठनले त्यस्तो अवस्थामा वृद्धवृद्धा तथा बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आह्वान गरेको छ ।
यसरी वायु प्रदूूषण बढेसँगै विभिन्न किसिमका श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्ने भन्दै चिकित्सकले सावधानी अपनाउन जोड दिएका छन् । वायु प्रदूषणको सिकार बालबालिका तथा वृद्धवृद्धालाई बढी देखिने भन्दै चिकित्सकले प्रदूषण अवधिभर घरबाहिर निस्कन नहुने सुझाव दिएका छन् ।
वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा। राजु पङ्गेनीले वायु प्रदूषणले गर्दा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने बताए । उनले प्रदूषणका कारण रुघाखोकी, घाँटीको एलर्जी, फोक्सोसम्बन्धी रोग, बालबालिकामा ब्रोङ्काइटिक्स लगायतका रोग लाग्न सक्ने बताए ।
डा। पङ्गेनीले बालबालिकालाई श्वासप्रश्वासमा समेत असर गर्ने भएकाले सचेत रहन आग्रह गरे । उनले भने, ‘यदि घरबाहिर निस्कनै परेमा विशेष सावधानी अपनाउनुपर्छ । अत्यधिक वायु प्रदूषण बढ्दा फोक्सोसम्बन्धी बिरामीलाई झन् असर पर्ने डा। पङ्गेनीको भनाइ छ ।
वायु प्रदूषणका कारण रुघाखोकी लाग्ने, घाँटीमा समस्या हुने, घाँटी खसखस हुने, चिलाउने, घाँटीको एलर्जी हुने गर्छ ।
वीर अस्पतालमा कार्यरत वरिष्ठ छातीरोग विशेषज्ञ डा। अशेष ढुङ्गानाले प्रदूषणले दीर्घरोगीलाई मात्र नभई, स्वस्थ व्यक्तिलाई समेत असर गर्ने बताए । उनले दम, मुटु, छातीको समस्या भएका बिरामीलाई असर गर्ने भएकाले विशेषगरी दीर्घरोगीले सचेतना अपनाउनुपर्ने बताए ।
उनले अहिलेको वायु प्रदूषणबाट जोगिनलाई ‘मर्निङवाक’ नगर्ने, घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाएरमात्र निस्कने, वायु प्रदूषण भएका बेला कठिनखालका शारीरिक अभ्यास नगर्ने, वायु प्रदूषणबाट आँखा जोगाउनका लागि चस्मा प्रयोग गर्नुपर्ने बताए ।
बालरोग विशेषज्ञ डा। दिनेश कोइरालाले वायु प्रदूषणको असर बालबालिकालाई समेत पर्ने भएकाले उनीहरूलाई घरबाहिर निस्कन दिन नहुने बताए । डा। कोइरालाले बालबालिकालाई चिसो मौसम र वायु प्रदूषणको बेला बाहिर छाड्न नहुने बताए ।
उनले अत्यधिक चिसो तथा प्रदूषणले निमोनिया, श्वासप्रश्वास, हाइपोथर्मियालगायतका रोगले आक्रमण गर्ने बताए ।
डा। कोइरालाले जाडोमा बालबालिकालाई बाक्ला कपडा लगाइदिनुपर्ने बताए । वायु प्रदूषणले सामान्य मानिसलाई समेत विभिन्न रोगले सताउने भएकाले रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका सचेत रहनुपर्ने बताए । गोरखापत्रमा खबर छ ।
क्याटेगोरी : पत्रपत्रिका