काठमाडौँ
बेलायती सेनाप्रमुखले रुससँग आकस्मिक युद्ध हुन सक्ने खतरा रहेको बताएका छन् । सेनाप्रमुख जनरल निक कार्टरले टाइम्स रेडियोसँगको दिएको अन्तर्वार्तामा युद्ध खतरा रहेको जानकारी दिएका हुन् ।
‘मलाई लाग्छ कि हामी १० वा १५ वर्षअघि भन्दा धेरै नै प्रतिस्पर्धी संसारमा छौं,’ जनरल कार्टरले भने, ‘राज्यहरू र शक्तिहरूबीचको यस्तो प्रतिस्पर्धाको प्रकृतिले ठूलो तनाव निम्त्याउँछ।’
आफूले सैन्य सेवा शुरु गरेको समयलाई हालको विश्वको अवस्थासँग तुलना गर्दै उनले ठूला शक्ति राष्ट्रबीच तनाव बढ्ने बताएका छन् । उनले पहिलेको विश्व द्विध्रुवीय रहेको र पछि एकध्रुवीय हुँदै बहुध्रुवीय भएको उल्लेख गरे ।
‘जब तपाइँ र म हुर्किँदै थियौँ त्यसबेला यो द्विध्रुवीय विश्व थियो । एक सोभियत संघ र पश्चिम । त्यसपछि हामी एकध्रुवीय विश्वमा गयौं । र यसको नेतृत्व अमेरिकाले गरिरहेको छ, ’ पत्रकार टम न्युटन डनसँग उनले भने ।
तर पछिल्लो समय विश्व बहुध्रुवीय अवस्थामा पुगेको र विभिन्न एजेन्डाहरूमा प्रतिस्पर्धा गरिरहेका कारण ठूलो तनावको खतरा रहेको उनले बताए । ‘मलाई लाग्छ कि हामी अब यस्तो अवधिमा छौं जहाँ यो विश्व बहुध्रुवीय छ,’ उनले अघि भने, ‘र बहुध्रुवीय संसारमा मानिसहरूले विभिन्न उद्देश्यहरू र विभिन्न एजेन्डाहरूमा प्रतिस्पर्धा गरिरहेका छन्, त्यहाँ ठूलो तनाबको जोखिम छ,’ कार्टरले भनेका छन् ।
यस्तै कार्टरले राजनीतिज्ञहरूलाई अनावश्यक कुराले भड्काउने गरेको आरोपसमेत लगाएका छन् । साथै उनीहरूलाई यस्तो नगर्न चेतावनीसमेत दिएका छन् ।
बेलारुस–पोल्याण्ड सीमाक्षेत्रमा उत्पन्न आप्रवासी संकटमा रुसको नाम जोडिएको छ। तर उनले आफूलाई यसबारे जानकारी नभएको बताए । पछिल्लो समय बेलारुस–पोल्याण्ड सीमाक्षेत्रमा उत्पन्न आप्रवासी संकटलाई लिएर रुसको चर्को आलोचना भइरहेको छ ।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार