काठमाडौँ -गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले गत डिसेम्बर २०२१ भित्र निर्वाचन गराउन नसकेर कामचलाउ अध्यक्ष कुमार पन्तले नै सम्मानित अदालतको अपहेलना गरेको जनाएका छन्। जीएनएनसंग कुरा गर्दै उपाध्यक्ष लामाले गत अक्टोबर २०२१ भित्र संघको महाधिवेशन र निर्वाचन गराउन नसकेका कारण परराष्ट्र मन्त्रालयले संघका प्रमुख संरक्षक शेष घलेलाई महाधिवेशन सम्पन्न गर्न पत्र लेखेको स्मरण गरे।
तर उक्त निर्देशन विरुद्ध कार्य समितिमा कुनै छलफल नै नगरी अध्यक्ष पन्त उच्च अदालत पाटन पुगे पछि अदालतले डिसेम्बर २०२१ भित्र निर्वाचन गराउने काममा कुनै बाधा अवरोध नगर्नु भनी मन्त्रालयलाई अन्तरिम आदेश दिएको थियो। उक्त रिट निवेदन उपर अन्तिम फैसला हुन अझै बाकी नै छ।
“डिसेम्बर २०२१ भित्र चुनाव गराउछु भनेर अदालतलाई भन्ने तर सो मिति भित्र चुनाव गराउन नसक्नु सम्मानित अदालतको अपहेलना हो,” एनआरएन मामिला सम्बन्धी जानकार अधिवक्ता सुनिल पोखरेलले भने। “त्यस्तै दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई परराष्ट्र मन्त्रालयले दिएको आदेश सम्बन्धी मुद्दा विचाराधीन रही रहंदा संरक्षक परिषद विघटन गरेको निर्णय गर्नु अदालतको अपमान हो। ”
उपाध्यक्ष लामाले पनि आइसीसीले प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न नसके पछि गत २२ जनवरी २०२२ मा उच्चस्तरीय समिति गठन गरेको तर समितिले काम पुरा गर्दा नगर्दै समिति भंग गरिएको भनी संरक्षक परिषद र समितिको अपमान गरेको बताए।
“हामीले नेपाल सरकार वा सम्मानित अदालतको अपमान गर्ने काम कहीं कतै गरेका छैनौं र गर्ने पनि छैनौं। तर संघको अभिभावकको रुपमा रहेको नेपाल सरकार विरुद्ध एकतर्फी रुपमा मुद्दामामिला गर्ने, सम्मानित अदालतको मानहानी गर्ने काम कामचलाउ अध्यक्ष पन्तले नै पटक पटक गरिरहेकाछन,” उपाध्यक्ष लामाले भने। ” अब संसारभरिका साथीहरुलाई कामचलाउ अध्यक्ष पन्तले जवाफ दिनु पर्छ। ”
एनआरएनएको गत वर्ष निर्वाचित ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मध्ये ४५ भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी संरक्षक परिषद तथा उच्चस्तरीय समिति भंग गरिएको भन्ने गत २ मार्चको बैठकको निर्णयको कुनै कानूनी हैसियत नरहेको जनाएको थियो। उक्त बैठकले प्रमुख संरक्षक शेष घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट पनि दिएको थियो।
सोही म्यान्डेट तथा संघको विधानको दफा १६/१/४ ले दिएको अधिकार प्रयोग गरी प्रमुख संरक्षक घलेले यही २२-२५ मार्चमा काठमाडौँमा दशौँ महाधिवेशन बोलाएका छन्। उनले उपाध्यक्ष लामाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति तथा संघको नयाँ नेतृत्व चयन गर्न विश्व बराल (अमेरिका) को संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेका छन्।
क्याटेगोरी : समाचारट्याग : #NRNA,
#सोनाम लामा