Techie IT
×
गृहपृष्ठसमाचारकाभ्रेमा प्रतिवादीहरुबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी

काभ्रेमा प्रतिवादीहरुबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी


जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ वर्षमध्ये ५१९ वर्ष कैद भुक्तान गराएको छ ।

मुद्दामा फैसला भई फरार रहेकालाई प्रहरीले पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुल गरिएको समेत अदालत प्रशासनले जनाएको हो । आर्थिक वर्ष २०७६/७७, २०७७/०७८ तथा २०७८/७८ को फागुन महिनासम्म विभिन्न प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान तथा रु ६६ करोड १८ लाख पाँच हजार १३ जरिवाना असुल गर्न बाँकी रहेको अदालतका स्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए ।

उनका अनुसार प्रत्येक प्रतिवादीको कैद सजाय जोडेर एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको हो । अदालतले यस अवधिमा रु एक करोड २९ लाख ७९ हजार ८७६ जरिवाना असुल गराएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्म ४६७ मुद्दामा २४५ कार्यान्वयन प्रगति भएको हो ।

साथै विभिन्न प्रकृतिका लगत दुई हजार ३५८ मुद्दामध्ये ३५ दशमलव २ प्रतिशत अर्थात् एक हजार ५२८ मुद्दा फछ्र्यौट भएको जनाइएको छ । करिब तीन वर्षको अवधिमा सम्बन्धविच्छेदका एक हजार १९७ लगतमा ८३६ मुद्दा कार्यान्वयन प्रगति भएको छ । यस्तै एक हजार ६५ अंश मुद्दामा ३२४ फछ्र्योट भएको हो ।

जबर्जस्ती करणीका २७० मुद्दामा ११२ फछ्र्योट भएको स्रेस्तेदार घिमिरेले जानकारी दिए । उनका अनुसार बर्सेनि जबर्जस्ती करणीका घटना बढेको छ । अदालती तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा ८५, २०७७/७८ मा ९८ र चालू आर्थिक वर्षको करिब नौ महिनामा ८७ जबर्जस्ती करणीका घटना भएका छन् । ‘जबर्जस्ती करणीका घटनाले समाजलाई ज्यादै असुरक्षित बनाइदिन्छ, यसबाट जोगाउने तर्फ सबै लागौँ, तुलनात्मकरूपमा यो वर्ष पनि गत वर्षमा भन्दा बढ्ने सङ्केत देखिएको छ’, जिल्ला न्यायाधीश मनराज भट्टराईले भने ।

भट्टराईले सम्बन्धविच्छेदका मुद्दा पनि बढिरहेकाले गम्भीर हुनुपर्ने देखिएको बताए । उनले भने, ‘एकले पति पाउँछन् अर्काले पत्नी पाउँछ, तर पारिवारिक विखण्डन र सम्बन्ध विच्छेदले कलिला बालबालिकाको जीवन अँध्यारोतर्फ डोरिहिरहेको छ, यसतर्फ ध्यान नदिँदा समाजमा सडक र अनाथ बालबालिका बढिरहेका हुन् ।’

यसैबीच अदालतले फरार प्रतिवादीलाई पक्राउ गर्न सूचना दिएमा वा सहयोग गरेमा सर्वसाधारण नागरिक समेतले जरिवाना असुल भएकोबाट २५ प्रतिशत पाउने जनाएको छ । अपराधीलाई सजाय दिलाउँदा अपराध न्यूनीकरण हुँदै जानेप्रति सजग रहँदै फरार प्रतिवादी पक्राउ गर्न यस्तो प्रावधान बनाइएको न्यायाधीश भट्टराईले बताए । ‘पीडितलाई न्याय दिलाउनु अदालतझैँ प्रत्येक नागरिकको कर्तव्य पनि हो’, उनले भने ।रासस


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस