Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए कार्यशालाद्वारा ५ बुँदे ललितपुर घोषणापत्र, वैदेशिक रोजगार, सामाजिक सुरक्षा र लगानीमा सरकारसँग सहकार्य हुने

एनआरएनए कार्यशालाद्वारा ५ बुँदे ललितपुर घोषणापत्र, वैदेशिक रोजगार, सामाजिक सुरक्षा र लगानीमा सरकारसँग सहकार्य हुने


वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक सहकार्यका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र सामाजिक सुरक्षा कोषबीच बिहिवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालसहितको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्यरबद्री केसी,उपाध्यक्ष तथा वैदेशिक रोजगार राहत समितिका संयोजक आरके शर्मा र कोषका निर्देशक कृष्ण अधिकारी बीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

एनआरएनएले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यक्रममा एनआरएनए र कोषबीच समझदारी भएको हो । एनआरएनएको तर्फबाट उपाध्यक्ष तथा वैदेशिक रोजगार राहत समितिका संयोजक आरके शर्मा र कोषका तर्फबाट निर्देशक कृष्ण अधिकारीले उक्त समझदारीपत्र निमार्णमा गृहकार्य गरेका थिए ।

एनआरएनएले झन्डै एक दशकदेखि विभिन्न अभियानमार्फत वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षामा समेट्न लबिङ गर्दै आएको थियो । एनआरएनएले वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा ल्याउनका लागि सरकारी, राजनैतिक दल तथा सरोकारवाला निकायलाई दवाव दिन पटक पटक कार्यक्रम तथा छलफल गर्दै आइरहेको छ ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा रहेका नेपालीको सुरक्षामा सरकारले पहिलो प्राथमिकता राखेर काम गर्ने बताए । भर्खरै श्रम मन्त्रालय संहालेका मन्त्री कुँवरले एनआरएनएसँगको सहकार्यबाट वैदेशिक रोजगारमा रहेका नेपालीका समस्या समाधानमा धेरै काम गर्न सकिने बताए ।
मन्त्री कुँवरले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत सरकारलाई चुनौती रहेको बताउँदै भने–‘ विदेशमा मृत्यु भएका वा अलपत्र परेका नेपाली नागरिकलाई देशभित्र ल्याउनको लागि एनआरएनको पनि उत्तिकै दायित्व छ ।’
मन्त्री कुँवरले नेपाली श्रमिकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गर्नसके एकमुष्ठ रेमिट्यान्स नेपाल आउने बताए । उनले मेलेसिया,साउदीअरब लगाएत धेरै नेपाली श्रमिक भएका देशमा नेपाली बैंकको शाखा खोल्ने विषयमा नेपाली कानून र विदेशको ऐनको विषयमा छलफल गर्न आवश्यक रहेको बताए । उनले भने–‘ बैंक शाखा खोल्न मिल्ने अवस्था भए नेपाली बैंकहरुसँग समन्वय गर्न सरकार तयार रहेको छ, विदेशबाट आउने रेमिट्यान्स हुण्डी तथा अन्य चोर बाटोबाट आउने गरेकाले यस्तो कार्य नियन्त्रणका लागि सरकारले तत्कालै काम अगाडि बढाउँछ । मन्त्री कुँवरले हुण्डी तथा अन्य चोर बाटोबाट रकम नपठाऊन बिदेशमा रहेका नेपालीलाई आग्रहसमेत गरे । उनले जस्ले गलत कार्य अर्थात हुन्डीको धन्दा चलाएपनि राज्यले कारवाही गर्ने दावी गरे । श्रममन्त्री कुँवरलगाएत प्राय सबै मन्त्रि र सरोकारवाला निकाएले हुन्डीको सार्वजनिक कार्यक्रममा विरोध गरेपनि बैधानीक बाटोबाट जती नै अवैधानिक बाटो अर्थात हुन्डीबाट पैसाको कारोवार भैरहेको छ । अहिले पनि मलेसिया,कोरिया,युएई,जापान,
अस्ट्रेलिया,कतार,हंकंगलगाएतका देशमा खुलेआम हुन्डीको कारोवार हुने गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानको लागि गैरआवासीय नेपाली संघको सहयोग आवश्यक रहेको बताए । श्रम सचिव अर्यालले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कार्य अघि बढाएको समेत बताए । ‘संसदमा नेपाल ऐन संशोधन गर्ने तयारी भइरहेको छ, त्यसमा विदेशमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी वैदेशिक रोजगार ऐन परिमार्जन हुँदैछ‚’ उनले भने, ‘कोषमा विदेशमा भएका कामदारलाई हेर्ने छुट्टै युनिट गठन हुनेछ ।’

उक्त कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले उक्त सहमतीपत्रमा हस्ताक्षर ठुलो सफलता भएको बताए । आचार्यले बैदेशिक रोजगारमा रहेका नेपालीहरुको हक हितका लागी एनआरएनएले आफ्नो सम्पुर्ण रिसोर्स प्रयोग गर्ने बताए । आचार्यले एनआरएनएले वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा ल्याउनका लागि सरकारी, राजनैतिक दल तथा सरोकारवाला निकायलाई दवाव दिन पटक पटक कार्यक्रम तथा छलफल गर्दै आइरहेको र आज सहमतीपत्रमा हस्ताक्षर गर्दा आफू अत्यन्तै खुशी भएको बताए ।
कार्यक्रममा एनआरएन उपाध्यक्ष तथा वैदेशिक रोजगार राहत कोष समितिका संयोजक आर।के। शर्माले विदेशमा रहेका नेपालीहरू जीवनभर विदेशमा रहे पनि उनीहरूको सुरक्षाका लागि भने कुनै व्यवस्था नहुँदा उनीहरू समस्यामा पर्ने गरेको बताए । उनीहरूको जीवनभरको कमाइ अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको भन्दै उनले विदेशमा रहेका नेपालीलाई नेपालको उत्पादनमूलक क्षेत्रमा समेट्न सरकारलाई आग्रह गरे । उनले भने–‘ बार्षिक आउने रेमिट्यान्सको १० प्रतिशत मात्र सामुहिक लगानी गर्ने हो भने ९० अर्व हुन्छ, यो बजेट देश विकास र रोजगार सृजनामा लगाउन सकिन्छ ।’
उपाध्यक्ष शर्माले वैदेशिक रोजगारमा मृत्यु भएका परिवारले पाउँदै आएको रकमलाई बृद्धि गर्नु पर्ने बताए । उनले भने वैदेशिक रोजगारमा मृत्यु भएकाको परिवारले क्षतिपूर्ती रकम कम्तिमा ५० लाख पुर्याउनु पर्छ ।’
एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष बद्री केसीले वैदेशिक रोजगारका नाममा हुने गरेका समस्यालाई सरकार र सरोकारवाला निकायले समाधान गर्नु पर्ने बताए । कार्यपत्र विषयविज्ञ कृष्ण आचार्यले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष नरेन्द्र भाटले गरेका थिए । कार्यक्रमको सहजीकरण उपाध्यक्ष भाटले बैदेशिक रोजगार विविध समस्याको बारेमा चर्चा गरेका थिए ।

लगानीको वातावरण बनाउने उद्योगमन्त्रीको प्रतिवद्धता
एनआरएनएले आयोजना गरेको लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले एनआरएनलाई स्वदेशमा लगानी ल्याउन सहज वातावरण निमार्णमा सरकारको तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाएका छन् । एनआरएनएले आयोजना गरेको लगानी तथा वैदेशिक मुद्रा निक्षेप विषयक कार्यक्रममा मन्त्री बडुले विदेशमा बस्ने नेपालीलाई सहज हुने हरेक प्रकार समस्याको हल गर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल लगानीका लागि उपयुक्त ठाउँ भएकाले एनआरएनहरुलाइ स्वदेशमा लगानी गर्नका लागि आग्रह गरे । उनले विदेशबाट डलर खाता खोल्नका लागि अहिले सहज वातावरण बनेको हुँदा एनआरएनहरुलाई धेरैभन्दा धेरैभन्दा धेरै डलर खाता खोल्नका लागि आग्रह गरे । उनले उक्त खाता खोल्नाले आफूलाई पनि फाईदा र देशलाई पनि फाईदा हुने भएकाले यो अवसर नगुमाऊन ढकालले सबै गैर आवासीय नेपालीलाई आग्रह गरे ।
उक्त कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष कुमार पन्तले विदेशबाट लगानी ल्याउनका लागि सहज वातावरण नभएको बताउँदै एनआरएनहरुले धेरै दुःख पाइरहेको बताए ।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष महेश श्रेस्ठले विदेशबाट लगानी ल्याउनका लागि सहज वातावरण बनाउन सरकारलाई अनुरोध गरे । श्रेस्ठले बिदेशमा रहेका सबै नेपालीलाई सामाजिक कोषमा आवद्द गराउनूपर्ने जनाउदै अवको एनआरएनएको अभियान भनेकै बैदेशिक रोजगारिमा रहेका नेपाली कामदारको संरक्षण गर्ने र स्वदेशमा लगानी भित्याऊने नै रहेको बताए ।

कार्यक्रममा नेपाल रेमिटेन्स एशोसियसनका चन्द्र टंडनले एनआरएनलाई स्वदेशमा लगानी भित्र्याऊन र डलर भित्र्याऊन आग्रह गरे । टंडनले बिदेशबाट बैधानीक बाटोबाट मात्रै आफ्नो पसिनाको कमाई स्वदेश पठाउन सबैलाई अनुरोधसमेत गरे ।
कार्यक्रममा बिभिन्न क्षेत्रका अर्थविज्ञ,श्रमविज्ञ,बिभिन्न बैंकका पदाधिकारीलगाएतले गैर आवासीय नेपालीलाई स्वदेशमा लगानी ल्याऊन र डलर भित्र्याऊन आग्रह गरे ।

एनआरएनको ललितपुरमा भएको वर्कशपको निष्कर्ष प्रवक्ता सोम सापकोटाले बाचन गरेका थिए भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष आरके शर्माले गरेका थिए ।
उक्त कार्यक्रममा एनआरएनका अध्यक्षद्वय कुल आचार्य र बद्री केसी,उपाध्यक्षहरु महेश श्रेस्ठ,आरके शर्मा र नरेन्द्र भाट,उपमहासचीव विनय अधिकारी,प्रवक्ता सोम सापकोटा,एनआरएन युरोप संयोजक चिन्तामणि सापकोटा,एनआरएन युरोप युवा संयोजक रमेश काफ्ले,एनआरएन आईसिसि सदस्य पुर्ण पोखरीया,एनआरएन कम्बोडियाका अध्यक्ष लाल सिंह खड्कालगाएतको प्रत्यक्ष सहभागिता रहेको थियो भने अन्य पदाधिकारी जुमवाट सहभागी भएका थिए ।

गैरआवासीय नेपाली संघ, ललितपुर कार्यशाला – २०२२ का निष्कर्षहरु
गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा आज २१ जुलाई २०२२ का दिन ललितपूरस्थित होटेल हिमालयनमा “वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप” विषयक एक दिने कार्यशाला सम्पन्न भयो । गैरआवासीय नेपाली संघले दशकौँ देखि उठाउँदै आएका मागहरुलाई सम्बोधनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरुसँग कार्यशालामा बृहद् छलफल भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरज्यूको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी एवं विश्वभरबाट अनलाईन माध्यमबाट २०० भन्दा बढी गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो । मुलतस् वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप लगायतका विषयमा कार्यक्रममा बोल्ने वक्ताले आ–आफ्ना भनाई राख्नुभयो ।

उक्त छलफलबाट प्राप्त निष्कर्षहरुलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

१. वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक कार्यविधि बनाई तत्काल कार्यान्वयनका लागि एक उच्चस्तरिय संयन्त्रमार्फत आवश्यक प्रक्रियाहरु अघि बढाउनका लागि संघ र सामाजिक सुरक्षा कोषबीच सहमति पत्रमा हस्तारक्षर सम्पन्न भयो ।

२. तत्काल सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपालीलाई समेट्नको लागि कानूनी आधार तय गर्न उच्च स्तरीय राजनीतिक र प्रशासनिक तहमा लबिङ गर्न संघ प्रतिबद्ध छ । साथै वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएका श्रमिकलाई हाल दिँदै आएको बिमा बापतको रकमलाई वृद्धि गरि ५० लाख सम्म पुर्याउन सरकारलाई यो संघ अनुरोध गर्दछ ।

३. वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान सीप र प्रविधि नेपालको व्यवसायिक तथा आर्थिक विकासमा योगदान हुनेगरी पुनस्एकीकरणसहित, नेपालमा रोजगारी सिर्जना, उद्यमशिलता विकास तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको जीवनस्तर उकास्न सहयोगी हुने किसिमका सीपमुलक कार्ययोजना निर्माण तथा कार्यान्वयनमा नेपाल सरकारसँग सहकार्य गर्न संघ प्रतिबद्ध छ ।
४। गैरआवासीय नेपालीहरुलाई लक्षित गरी नेपालका बैंकमा खोलिने वैदेशिक मुद्राको ९डलर खातां० खातामा बढी भन्दा बढी निक्षेप संकलन गर्न रगराउन तथा सहभागितामा वृद्धि गर्नको लागि नेपालका बैंक तथा नियामक निकायहरुसँग आपसी सहकार्य गरी यस अभियानलाई सफल पार्न संघ प्रतिबद्ध छ ।

५.गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी बाधा अड्चन हटाई आवश्यक संशोधन गर्न संघ आग्रह गर्दछ ।
अन्त्यमा, यस कार्यशाला सफल पार्न प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्ने नेपाल सरकार, सरोकारवाला, सञ्चारकर्मी, समस्त गैरआवासीय नेपाली लगायत सम्बन्धित सबैमा संघ हार्दिक आभार प्रकट गर्दछ ।

२१ जुलाई २०२२
ललितपुर, नेपाल ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस