Techie IT
×
गृहपृष्ठग्लोबलवैरो संघको साधारण सभा आज, उदघाटन प्रधानमन्त्री प्रचण्डबाट

वैरो संघको साधारण सभा आज, उदघाटन प्रधानमन्त्री प्रचण्डबाट

नेतृत्वका लागि जिसी, भण्डारी, खनाल र गुरुङ प्यानल प्रतिस्पर्धामा


काठमाडौं।बैदेशिक रोजगार ब्यावसायिहरुको छाता सँस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारण सभाको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन ।

संघ तदर्थ समिति संयोजक विमल ढकाल, सह–संयोजक प्रेमबहादुर कटुवाल तथा सदस्य सचिव प्रज्ञान न्यौपानेले गत सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर संघको साधारण सभा उदघाटन गरी व्यवसायीहरूको हौसला बढाइदिन आग्रहसहित निमन्त्रणा पत्र बुझाएका थिए ।

जवाफमा प्रधानमन्त्रीले वैदेशिक रोजगार व्यवसायीले रेमिट्यान्स भित्रयाउन खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै व्यवसायीहरूका कुरा सुन्न इच्छुक भएकाले साधारण सभा उदघाटनमा आउने जानकारी गराएको तदर्थ समितिका सदस्य सचिव प्रज्ञान न्यौपानेले बताए । प्रधानमन्त्री प्रचण्ड संघको साधारण सभामा प्रमुख अतिथि भई उदघाटन गर्ने प्रधानमन्त्री कार्यालय निकट स्रोतले बतायो । वैरो संघको साधारण सभा प्रधानमन्त्रीबाट दोश्रो पटक उद्घाटन गराउन लागिएको संघले जनाएको छ । यसअघि नेपाली कांग्रेसका सभापति तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संघको साधारण सभा उद्घाटन गरेका थिए ।

साधारण सभामा नवनियुक्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलराज अर्याल विशिष्ट अतिथि तथा मन्त्रालयका सचिवलगायतका अतिथिको उपस्थिति रहने न्यौपानेले बताए । २९ औं साधारण सभा तथा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको न्यौपानेले बताए । यसैबीच आज हुने संघको निर्वाचन मतपत्रका आधारमा हुने भएको छ ।

हाल प्रतिस्पर्धामा रहेका केही प्यानलले प्रविधिमा धाँधली हुने आशंका गरी विद्युतीय मेसिनबाट मतदान गराउन असहमति जनाएपछि निर्वाचन समितिले मतपत्र छाप्न लगाएको जनाएको छ । मतपत्रका आधारमा मतदान भए परिणाम सार्वजनिक हुने समय केही लम्बिन सक्ने निर्वाचन समितिले बताएको छ

नेतृत्वका लागि चारवटा प्यानल प्रतिस्पर्धामा
वैदेशिक रोजगार व्यवसायी संघमा साधारणसभासँगै चुनावबाट नयाँ नेतृत्वसमेत चुनिने भएकाले व्यवसायीहरुमा कसले नेतृत्व लिने भन्ने होडबाजी देखिएको छ । चुनावमा आगामी नेतृत्वका लागि ४ वटा प्यानल बनाएर प्रतिस्पर्धी लागेका छन । विभिन्न प्यानलबाट अध्यक्षदेखि सदस्यसम्म गरी ५६ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यक्षको उम्मेदवारी दिएका छन । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष कुमुद खनाल, नेपाली कांग्रेसबाटै बागी संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिंह गुरुङ, र माओवादी–नेकपा एस गठबन्धनबाट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मंचका सल्लाहकार डा। ईश्वर जिसीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन ।

एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबाट राजेन्द्र भण्डारी नेतृत्वको व्यवसायिक समूह चुनावी मैदानमा उत्रिएको छ । यस प्यानलमा अध्यक्षसहित प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र १० जना सदस्य गरी १७ जनाको टीम बनेर चुनाव मैदानमा गएको छ । सो समुहले विभिन्न २२ बुँदे चुनावी एजेण्डासहित सो समूह मैदानमा उत्रिएको हो । भण्डारीको टीममा प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री कुमार , द्धितीय उपाध्यक्षमा सञ्जु गुरुङ र तृतीय उपाध्यक्षमा रोसन कटवालले मनोनयन दर्ता गराएका छन । त्यस्तै, महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा सरिता घलेले उम्मेदवारी दिएका छन् । भने, अन्य १० जनाले सदस्यमा उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस समर्थित मेनपावर व्यवसायीको छाता संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको कुमुद खनालको प्यानलबाट प्रथम उपाध्यक्षमा किशोरकुमार केसी, द्वितीय उपाध्यक्षमा अख्तर हुसेन, तृतीय उपाध्यक्षमा सञ्जय पनेरु, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा हिमा गुरुङले उम्मेदवारी दिएका छन् । भने, ८ जनाले सो टीमबाट सदस्यमा उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीनिकट व्यवसायीको पनि संयुक्त प्यानल घोषणा गरेर चुनावमा गएका छन् । डा। ईश्वर जिसी नेतृत्वको यो टीममा प्रथम उपाध्यक्षमा धनलाल जैसी, द्वितीय उपाध्यक्षमा बाबुराम खड्का र तृतीय उपाध्यक्षमा अनिल बोगटीको मनोनयन छ । महासचिवमा मधुकर रिजाल, सचिवमा टक्करबहादुर पाख्रिन र कोषाध्यक्षमा केदारनाथ अधिकारीले उम्मेदवारी दिएका छन् । सदस्यमा १० जना रहेका छन्
यस्तै संयुक्त लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीको तर्फबाट भुवनसिंह गुरुङको अध्यक्षको उम्मेदवारीसहित प्यानल घोषणा भएको छ । एमालेबाहेकका विभिन्न दलमा आवद्ध सदस्यहरू मिलेर छुट्टै प्यानल खडा गरेका हुन् । सो समुहबाट अध्यक्षको उम्मेदवार भुवनसिंह गुरुङ, द्वितीय उपाध्यक्षमा महमद जबार दिन मियाँ, तृतीय उपाध्यक्षमा मोहनकुमार ढुंगेल, सचिवमा प्रेम लावती, कोषाध्यक्षमा हिरादेवी बुढाथोकी र सदस्यमा अन्यले उम्मेदवारी दिएका छन् ।

संघ निर्वाचनको प्रचार अन्तिम चरणमा
आज हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि संघको नेतृत्व लिन चुनावी मैदानमा उत्रिएका चार वटै प्यानलको प्रचार प्रसार बिहिवार बेलुका सकिएको छ । बिहीबार प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारी प्यानलले अनुपम फुडल्यान्डमा व्यावसायिक भेला सम्पन्न गरेको छ भने भुवनसिंह गुरुङ प्यानलले दियालो फुडल्यान्डमा व्यवसायी भेला सम्पन्न गरेको छ ।
यस्तै डा। ईश्वर जिसीले नेतृत्व गरेको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलले लर्ड पार्टी भेन्यू र लोकतान्त्रिक एशोसिएसनका आधिकारिक उम्मेदवार कुमुद खनाल प्यानलका उम्मेदवारहरुले स्काई ब्यांकटमा अन्तिम कार्यक्रम गरेर आ आफ्नो प्यानलका पक्षमा मत मागेका छन । मत सँगै उनीहरुले आफ्नो एजेन्डासमेत ब्यावसायीलाई बताएका छन । सबै समुहले बिभिन्न राजनितीक दलका नेताहरु बोलाएर आफ्नो पक्षमा मत माग्न लगाएका थिए ।


क्याटेगोरी : ग्लोबल, समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस