दाङ्ग, देउखुरीको मुख्य व्यापारिक केन्द्र लमहीमा सर्पदंश उपचार केन्द्र भवन निर्माण हुने भएको छ । धेरै वर्ष देखि बहसमै सिमित रहेको सर्पदंश उपचार केन्द्रले अब पूर्णता पाउने भएको हो । भवनको आज सोमवार शिलन्यास भएको छ ।
लमही अस्पतालको नजिकै उक्त सर्पदंश उपचार केन्द्र भवनको शिलन्यास गरिएको हो । पश्चिममा बाँके देखि पूर्वमा कपिलबस्तु सम्मका नागरिकलाई सेवा दिने गरि भवनको निर्माण थालिएको छ ।
देउखुरीमा सर्पको टोकाइबाट वर्षैनी सैयौको मृत्यु हुने गरेको छ । सर्पदंश उपचार केन्द्र निर्माणका लागि बिभिन्न कोण आवाज उठे पनि कार्य अघि बढ्न सकेको थिएन .
सर्पदंश भवनको शिलन्यास गर्दै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले अव सर्पको टोकाइबाट अकालमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताए । धेरै अघि देखि आफुले यस क्षेत्रमा सर्पदंश उपचार केन्द्र खोल्ने सपना देखेको आज आएर पुरा भएको केसीले बताए ।
नगर प्रमुख केसीले लमही अस्पतालमा औषधी छैन भनेर अब कुनै पनि बहानाबाजी नचल्ने समेत बताए । अस्पतालमा चाहिने जुन कुनै सामानको बारेमा नगरपालिकामा जानकारी दिन पनि अस्पताल प्रसासनलाई आग्रह गरे ।
कार्यक्रममा लमही नगरपालिकाका उप–प्रमुख देवका बेल्वासेले अस्पतालको मुल्याङ्कन घटेको भन्दै अब आउने अस्पताल प्रमुखले लमही नगरपालिका संग सहकार्य गरेर ब्यबस्थापन गर्न आग्रह गरिन । अस्पतालको स्तरवृद्धि गर्न डाक्टरले सकारात्मक भुमिका निर्वाह गर्नु पर्ने उनले बताईन ।
कार्यक्रममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले सर्पदंश उपचार केन्द्रको निर्माण कार्य तोकिएको समयमै सम्पन्न गरेर सेवा दिने बताए । निर्माण कार्यमा ठेकदारको इमान्दारीता, प्रतिवद्धता र सम्झौता अनुसारको काम हुने डाँगीले विस्वास व्यक्त गरेका छन् । हामी लमही अस्पतालको सुधार कार्यमा लागी रहेका छौँ, प्रयास जारी रहयो भने सुधार पक्कै हुने छ उनले भने ।
लमही नगरपालिकाका इञ्जिनियर विजयदेव चौधरीले सर्पदंश उपचार केन्द्र भवनको निर्माण २०७७ साल साउन ६ गते सम्म सम्पन्न हुने गरि डोको कन्सलटेन्ट एण्ड कन्सट्रक्सन प्रा.लि र लमही नगरपालिकाका विच भएको सम्झौता अनुसार उक्त भवनको कुल लागत रकम दुई करोड सात लाख अठार हजार सात सय नब्बे रुपैँया रहेको विबरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नुमराज पौडेल, लमही अस्पतालका निमित्त डा. अकाश बेल्वासे, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष लिला शाह, पत्रकार राधेश्याम गुप्ता लगाएतका वक्तहरुले बोलेका थिए । कार्यक्रमको सहजिकरण लमही नगरपालिकाका योजना प्रमुख पुष्पराज अधिकारीले गरेका थिए ।
क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking