Techie IT
×
गृहपृष्ठसमाचारजीवनपयोगी शिक्षा आजको आवश्यकता

जीवनपयोगी शिक्षा आजको आवश्यकता


दाङ्गको लमहीमा रहेको गोरखा ग्रुपद्वारा संचालित गोरखा मोर्डन सेकेण्डरी स्कुल लमहीका प्रिन्सिपल लोकमान रिजाल संग दीप संचारले गरेका कुराकानी

देउखुरी क्षेत्रलाई केन्द्रित गरेर गोरखा स्कुल लमहीमा सञ्चालन भएको पनि दुई वर्ष पुग्दै छ कस्तो महसुस गर्नु भएको छ ?

समग्र देउखुरीबासीको माग बमोजिम हामीले देउखुरीमा विद्यालय सञ्चालन गरेको करिव दुई वर्ष पुग्दै छ । हामी हाम्रो लक्ष्य अनुरुप निरन्तर अगाडि बढिरहेका छौँ । हामीले यो क्षेत्रको शैक्षिक स्तर उकास्न केही काम गरेर देखाइसकेका छौँ । हाम्रो विद्यालय स्थापना भएको दुई वर्ष नबित्दै यहाँको शैक्षिक स्तर उकास्न गरेको कदम र यसबाट आएको उपलब्धि निकै प्रशंसनीय रहेको र परम्परागत शिक्षण शैलीमा पुरै परिवर्तन गर्न परियोजना कार्य लगायतका विविध शैक्षिक क्रियाकलाप सञ्चालन गरी विद्यार्थीहरू आफैँ पढ्न, केही सिक्न र गर्न निकै उत्सुक भएको महसुस गरेका छौँ । वर्तमान समयमा देखिएका चुनौतिहरूलाई पार लगाउन विद्यार्थीहरूलाई सक्षम बनाउने प्रयास स्वरुप विद्यार्थीहरूलाई विभिन्न किसिमका दुव्र्यसनीको असरप्रति सचेत बनाउँदै त्यस्ता दुव्र्यसनीबाट बच्न र त्यस्ता दुव्र्यसनीको अन्त्य गर्न लागु औषध दुव्र्यसनी विरुद्धको शिक्षा कार्यक्रम, मनोवैज्ञानिक परामर्श र विद्यार्थीहरूको पढाइप्रति रुचि, पढाइसँगसँगै अन्य विविध क्रियाकलाप जस्तै खेलकुद, कला तथा विज्ञान प्रदर्शनी, शिक्षण सिकाइमा सहयोग हुने अतिरिक्त क्रियाकलाप तथा प्रतियोगिता, तल्लो तहमा ल्याब कक्षा, अभिभावक शिक्षा जस्ता कुराहरूले गर्दा विद्यार्थीहरूमा निकै सकारात्मक परिवर्तन आइरहेको महसुस गरेका छौँ । अझै पनि हामीले धेरै कामहरू गर्न बाकी रहेका छन् ।

तपाईहरूको शैक्षिक उपलब्धि कस्तो रह्यो ?

हामीले पूर्णरूपले काम गरेको एक वर्ष भएको छ र एक वर्षमा हामीले केही शैक्षिक उपलब्धिहरू हासिल गरेका छौँ, जस्तै कक्षा ११ र १२ को रिजल्टमा व्यवस्थापन संकायमा देउखुरी क्षेत्रकै उत्कृष्ट नतिजा दिन सक्नु, विज्ञान संकायको रिजल्टमा २४ जना विद्यार्थीमा २३ जना विद्यार्थी पास गराउनु र देउखुरीकै उत्कृष्ट जिपिए पोइन्ट ल्याउन सक्नु, कक्षा ८ को नगरस्तरीय जाँचमा सम्पूर्ण विद्यालयहरू मध्यबाट ग्रेड वृद्धि जाँच दिन नपर्ने एउटा विद्यालयमा हाम्रो विद्यालय पर्नु, नगरस्तरीय विज्ञान कला प्रदर्शनीमा प्रथम हुनु, वक्तृत्व तथा चित्रकलामा नगर प्रथम हुनु जस्ता अन्य थुप्रै शैक्षिक तथा खेलकुद उपलब्धिहरू रहेका छन् ।

तपाईहरूले छोटो समयमा यति धेरै उपलब्धिहरू हासिल गर्नु को कारण के हो ?

यसको खास कारणमा विद्यालयले नियमित रूपमा संलग्न गराएका विशेष विशेषज्ञहरू जस्तै प्राइमरी पाठ्यक्रमका लागि पूजा शाह, मनोवैज्ञानिक परामर्शका लागि डा सुशील कडेल, परियोजना कार्यकालागि सुनिल पौडेल र हेन्ड राइटिङका लागि बामदेव पोख्रेल, र उहाँहरूले बनाउनु भएको दैनिक पठन पाठन तालिकामा निरन्तर खट्नुहुने शिक्षक शिक्षिकाको सहकार्य र यसमा अप्रत्यक्ष रूपले सहयोग पुराउनुहुने सेयरधनी तथा सञ्चालक समिति नै हो र अर्को महत्त्वपूर्ण पक्ष अभिभावक, विद्यार्थी र विद्यालयको त्रिकोणात्मक सम्बन्ध हो ।

तपाईंहरूको विद्यालयमा विशिष्ट सुविधाहरू के के छन् ?

हाम्रा फरक सुविधाको कुरा गर्दा ल्याब कक्षाहरूको व्यवस्था, पूर्ण मन्टेश्वरी विधिबाट पठन पाठन, विज्ञान विषयको छुट्टाछुट्टै प्रयोगशालाहरू, विद्यार्थीको सङ्ख्या अनुरुप कम्प्युटर प्रयोगशालाको व्यवस्था, परियोजना कार्यहरू, खेल शिक्षकहरू सहित प्रसस्त खेल मैदान र विद्यार्थीको बौद्धिक तथा नैतिक विकासका लागि विद्यालय शिक्षण तालिका अनुरुप अतिरिक्त क्रियाकलापहरूको व्यवस्था नै हाम्रा विशिष्ट सुविधाहरू भित्र पर्दछन् ।

विद्यालयमा विद्यार्थीको संख्या धेरै तर अव्यवस्थित धेरै भए भन्ने सुनिन्छ नि ?

तपाईंको सुनाइ गलत हो म भन्दैन , गत वर्षको तुलनामा हाम्रा कक्षा कोठाहरू १५ वटा थपिएका छन् र सोही अनुरुप विद्यार्थीहरूको सङ्ख्या थपिएको हो । हामीले कक्षाको सही व्यवस्थापनका लागि कक्षा नर्सरीदेखि नै माथि अब्बल र उच्च् शिक्षा हासिल गर्नु भएका विषयगत शिक्षकहरूको व्यवस्था गरेका छौं । चुस्त र छरितो व्यवस्थापनका लागि तहगत संकाय प्रमुखहरूको व्यवस्थापन पनि गरेका छौं । यही व्यवस्थापन र व्यवस्थापन भित्र भएका शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको अथक मिहिनेतले नै मैले माथि भनेको जस्तो उपलब्धिहरू हासिल गर्न हामी सफल भएका हौँ । तसर्थ हामीसँग तापाईंले भने जस्तो कक्षाकोठामा विद्यार्थी धेरै भएको भने होइन ।

गोरखा मोडेल सेकेन्डरी स्कुलले अभिभावक शिक्षामा कत्तिको जोड दिएको छ ?

राम्रो प्रसङ्ग उठान गर्नु भयो, गोरखा स्कुलले गत वर्षदेखि नेसनल प्रोग्राम सेन्टरसँग सम्झौता गरी विद्यार्थी, अभिभावक तथा शिक्षक शिक्षिकालाई मनोवैज्ञानिक परामर्शको माध्यमबाट बालमैत्री वातावरणमा पठन पाठन गर्ने कार्यलाई जोड दिएको छ । विभिन्न चरणमा विद्यार्थीहरूको परामर्श कसरी गर्ने भन्ने कुराको कार्यक्रमहरूलाई हाम्रो वार्षिक शैक्षिक तालिकामा नै राखी हामी अगाडी बढेका छौँ । त्यति मात्र नभएर नार्कोनन नेपालका प्रदेश न ५ का संयोजक बसन्त पुनलाई वर्षको तीन पटक अभिभावक र विद्यार्थीसँग परामर्श कार्यक्रममा राखी बालबालिकालाई लागु औषध दुर्व्यसनीबाट कसरी अलग राख्ने भन्ने कार्यक्रम पनि हामीले गर्दै आएका छौँ । त्यसैगरी हाम्रो प्रोग्रामको ट्रेनर पूजा शाहले बाल मनोविज्ञान र बालमैत्री वातावरणका बारेमा अभिभावक परामर्श कार्यक्रम वर्षको तीन पटक गर्दै आउनु भएको छ ।

अन्य निजि बिद्यालय भन्दा गोरखाको शिक्षा कतिको महँगो छ ?

हामीले दिने शिक्षा निकै न्यून शुल्कमा संचालन गरेका छौँ । हाम्रो भिजन भनेको मध्यम र निम्न वर्गको विद्यार्थीलाई माथिल्लो वर्गको केटाकेटीले लिदै आएको शिक्षासँग जोड्नु हो, तसर्थ हाम्रो शिक्षा सबै वर्गको विद्यार्थीले सर्व सुलभ शुल्कमा लिने शिक्षा हो । वार्षिक सम्पूर्ण शुल्कलाई जोडेर अरु विद्यालयले लिदै आएको शुल्कसँग तुलना गर्ने हो भने हाम्रो शुल्क शिक्षाको गुणस्तरको आधारमा निकै कम पाउनु हुन्छ ।

कस्तो खालको जनशक्ति उत्पादन गर्न खोजिरहनु भएको छ ?

हामीले उत्पादन गर्न खोजेको जनशक्ति सबैलाई डाक्टर र इन्जिनियर बनाउन खोज्नु भन्दा पनि बालबालिकामा जीवनपयोगी र स्थानीय स्तरको आवश्यकता अनुरुपको सिपको सिर्जना गर्नु हो, हामीले त्यस्तो विद्यार्थी उत्पादन गर्न चाहन्छौँ जसले २१ औं शताब्दीको विश्व बजारसँग प्रतिस्पर्धा गरी आफ्नो जीवन यापन गर्न सकोस् । एउटा संस्कारयुक्त जिम्मेवार नागरिक भएर बाच्न सिकोस् ।

समग्र देउखुरी क्षेत्रको शिक्षामा देख्नु भएको चुनौती के हो ?

हामीले देखेको सबैभन्दा ठूलो चुनौती भनेको सामाजिक वातावरण हो । अहिलेको सामाजिक वातावरण यस्तो छ, जहाँ अबोध बालबालिकाहरू दिन प्रतिदिन नराम्रो खाडलमा भासिदै गइरहेका छन् । अहिले यस्तो वातावरण छ जहाँ बालबालिकाहरू स्कुल ड्रेस मै चुरोट, सुर्ति, गुटका तथा मदिरा किन्न तथा खान जान्छन् र पसलेले सामाजिक दायित्व नहेरी सजिलै उनीहरूलाई बेच्दछ । यहाँ यस्तो वातावरण छ जहाँ अभिभावकलाई बच्चाको लागि ५ मिनेट पनि समय छैन, बच्चा अभिभावक विहीन छन् र अभिभावक पनि आफ्नो बालबच्चाको अगाडि उसको मानसिक विकासभन्दा ठूलो कुराहरू गर्ने, फिल्महरू हेर्ने वा हेराउने वा उनीहरूकै सामुन्यमा विद्यालयमा फोन गरी शिक्षक शिक्षिकालाई डाट्ने तथा आपसमा झगडा गर्ने जस्ता कुराहरू । यसैगरी शिक्षालाई व्यापारीकरण गर्नु, राज्यको निजि विद्यालयले प्रदान गर्दै आएको शिक्षाप्रति विभेदकारी नीति र अबोध बालबालिकाले लिने पवित्र शिक्षामा हुने विभिन्न किसिमका बार्गे्निङ पनि यसका चुनौतीका रुपमा रहेका छन् । यो वातावरणलाई सुधार्नु नै हामी सबैको प्रमुख कर्तव्य र धर्म हो ।

विद्यालयहरूबीचमा अस्वस्थ प्रतिस्पर्धा देखिन्छ यस्तो किन हुन्छ ?

प्रत्येक विद्यालयको आफ्नै मौलिकता छ र हुनुपर्छ पनि । सो मौलिकतालाई संरक्षण गर्दै समयानुकूल आफूलाई रुपान्तरण गर्दै जानु पर्ने सबै स्कुलको बाध्यता रहन्छ । तर यो कुरालाई आत्मसाथ नगरी अर्को विद्यालयको अनुकरण गर्नु, अर्को विद्यालयले सुरु गरेको राम्रो काममा सिर्जनात्मक सहयोगभन्दा हलो अड्काउने काम गर्नु र दुरगामी नभई क्षणिक स्वार्थ पूर्तिका लागि कुनै विद्यालयलाई निमिटयान्न पार्छु भनेर सोच्नु दिवा सपना मात्र हो । यसो गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो । तसर्थ आफ्नो मौलिकतामा नै जोड दिई समयानुकूल आफू परिवर्तन हुनु र सो परिवर्तनमा सबैको अस्तित्वलाई स्वीकार गर्दै हातेमालो गर्नुमा म बुद्धिमानी ठान्दछु ।

आगामी वर्षको शैक्षिक योजना के छ ?

हामी आगामी वर्ष गुणस्तरीय शिक्षामा अझ बढी केद्रित हुनेछौँ । जसको लागि हामीले प्राथमिक र पूर्वप्राथमिक तहमा कार्यक्रमलाई कक्षा ५ सम्म विस्तारित गर्नेछौँ । गत वर्षदेखि लागु गरिएको ल्याब कक्षा अध्यापन शैलीलाई थप ठोस ढङ्गले सञ्चालन गर्नेछौँ । कक्षा १ देखि ८ सम्मको परियोजना कार्यलाई विद्यालयले आफैँ पाठ्यक्रम भित्र समावेश गरी तालिकाबद्धरूपले अगाडि बढाउनेछ । प्रत्येक कक्षामा विद्यार्थी सङ्ख्यालाई नियन्त्रण गरी विद्यार्थीमैत्री वातावरणको सिर्जना गर्नेछौँ, जसका लागि सीमित कक्षामा मात्र प्रवेश परीक्षाका माध्यमबाट सीमित विद्यार्थी भर्ना गर्नेछौँ । थप अनलाइन लाइब्रेरीको व्यवस्था गर्नेछौँ । यसका साथ साथै विद्यालयले लमही नगरपालिकाका सम्पूर्ण विद्यालय तथा अभिभावकहरूले बेहोर्नु परेको समस्या जसमा बालबालिकाहरू लागु औषध दुर्ब्यनीमा फसेका छन् । उनीहरूलाई मनोविद डा. शुशिल कडेल मार्फत विद्यार्थी तथा अभिभावकलाई परामर्श गर्ने कार्यक्रमलाई प्रभावकारी बनाई विद्यार्थीहरूमा आत्मसम्मान बढाई बालमैत्री स्कुल वातावरण सिर्जना गर्ने योजना रहेको छ । विद्यालयको भौतिक गुणस्तरलाई थप बलियो बनाउँदै लैजानेमा जोड दिनेछौँ । विद्यालयले विशेषगरी अहिलेको शिक्षालाई सामाजिक रुपान्तरण र सांस्कृतिक विकाससँग जोड्दै संस्कारयुक्त शिक्षा दिने काममा विशेष जोड दिनेछ ।

अन्त्यमा तपाई के भन्न चाहनुहुन्छ ?

सर्व प्रथम यहाँले मेरो विचार राख्ने ठाउँ दिनुभएकोमा यहाँलाई धन्यवाद १ अभिभावकज्यू हरूलाई म के भन्न चाहन्छु भने हाम्रा बालबालिकाहरूमा असिमित सम्भावनाहरू छन् । सबैले पढेर मात्र गर्छन् भन्ने छैन । जीवन यापन गर्नकालागि सबै किसिमका कुराहरू चाहिन्छ । तसर्थ उनीहरूलाई हप्काएर वा गालि गरेर आफूदेखि पर गराउनुभन्दा पनि उनीहरूको काममा हौसला दिऊ, उनीहरूको राम्रो साथी बनौं ता कि उनीहरूले मनका कुरा सजिलै हामीसँग भन्न सकून र उनीहरूलाई अनुशासित र व्यवहारिक ज्ञान सिकाऊ । यो सबै कुरा विद्यालय, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धबाट मात्र सम्भव छ, जसको लागि अभिभावक नियमित रुपमा विद्यालयको सम्पर्कमा हुन जरुरी छ । यसो गर्न सकेमा हजुरहरूको बालबालिकाको भविष्य उज्जवल छ र हुने बिश्वास दिलाउन चाहान्छु ।.


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस