बम बनाउने र विस्फोट गराउने तयारी गरिरहेका विप्लवका ७ कार्यकर्तासम्म कसरी पुग्यो प्रहरी?

काठमाडौंको नरेफाँटस्थित मूल सडककै एउटा घर। त्यो घरको ग्राउन्ड फ्लोरमा सानो कोठा।
एउटा पलङ, खाना पकाउने ग्यास चुलो र सिलिण्डरमात्र। त्यही कोठामा आइतबार राति ८ बजे हतियारसहितका र सादा पोसाकका प्रहरी प्रवेश गरे। कोठाभित्र ७ जना बसिरहेका थिए।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी सुरू गर्यो।
खाटमूनि लुकाएर राखेको अवस्थामा प्रहरीले ४ वटा प्रेसर कुकर, मसाल जुलुस निकाल्न तयार पारिएको अवस्थामा साना लाठी, सोमबारको नेपाल बन्द सफल पारौं भन्ने आशयको पर्चाहरू भेट्यो।
प्रहरी आएर टोलको घरमा खानतलासी सुरू गरेपछि एकैछिनमा छिमेकीहरू वरिपरि झुम्मिए।
छिमेकीहरूले प्रहरीले किन खानतलासी गरेको भन्ने सुइको पाएका थिएनन्। केहीबेरमै काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले घटनास्थलमै उनीहरूलाई जानकारी गराए, ‘प्रेसर कुकर बमसहित प्रहरीले विप्लवका सात कार्यकर्ता पक्राउ गर्यो।’
घट्टेकुलो र सुकेधारमा केहीबेरअघि बम विस्फोटको खबर सुनेका नरेफाँटका स्थानीय सो घटनाले खङरङ भए।
प्रहरी कसरी पुग्यो ७ जना कार्यकर्ता भए ठाँउ?
काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विस्फोट भएर ४ जनाको मृत्यु भएपछि महानगरीय प्रहरी कार्यालय, अपराध महाशाखा, काठमाडौं प्रहरी परिसर, सिआइबी र विशेष ब्युरोका टोली घटनास्थलमा नै गएर अनुसन्धान थालेका थिए।
नेपाल प्रहरीले व्यापक रूपमा सादा पोसाकमा प्रहरी परिचालन गरेको थियो।
सादा पोसाकमा खटेका एक प्रहरीले नरेफाँटमा विप्लव कार्यकर्ता लुकेर बसेको र उनीहरूसँग कुकर बमलगायतका सामग्री भएको सुइको पाए। ती बम राति काठमाडौंका विभिन्न ठाउँमा राख्ने योजना पनि उनले पत्तो लगाए। उनलाई ती महत्वपूर्ण सूचना कसले दियो एकिन छैन।
उनले आफूले पाएको सूचना तुरून्तै काठमाडौंका एसपी अशोक सिंहलाई फोन गरेर जानकारी गराए। सिंहले तुरून्तै काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई जानकारी गराए।
सुवेदीले अप्रेसनको जिम्मा एसपी सिंहलाई दिएर तुरून्तै ‘एक्सन’मा जान भने।
रातको ८ बजे एसपी सिंहको टोली नरेफाँट पुग्दा सशस्त्र र शादा पोशाकका प्रहरीले सो घर निगरानीमा राखिसकेका थिए।
एसपी सिंह प्रहरीको टोली लिएर आफैं शंकास्पद कोठामा छेरेर खानतलासी सुरू गरे।
सानो कोठामा सबै सामान लुकाएर राखेकाले भेटाउन धेरै बेर लागेन।
प्रहरीले विप्लवका कार्यकर्ता बम बनाउन त्यहाँ भेला भएको जनाएको छ।
बम बनाउने तयारी गरिएका ४ कुकर र ७ जना विप्लव कार्यकर्तालाई प्रहरीले त्यहीँ गिरफ्तार गर्यो।
गिरफ्तार पर्नेहरू कुन तहका कार्यकर्ता हुन्, उनीहरूमध्ये को-को बम बनाउने दक्षता राख्छन्? अझै खुलिसकेको छैन।
तर समयमा प्रहरीले यो गिरफ्तारी गर्न नसकेको भए विप्लवले पड्काएका बमले ठूलो अनिष्ठ हुन सक्ने प्रहरी प्रधान कार्यालयको आँकलन छ।
‘सही समयमा सही सूचना पाएपछि सर्च गर्दा हामी उनीहरूलाई पक्रन सफल भयौं,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने।
पक्राउ परेकाहरूले पार्टीको नीति अबलम्बन गरेर नेपाल बन्द सफल बनाउने अभियानमा आफूहरू लागेको प्रहरीसमक्ष बताएका छन्। उनीहरूको साथबाट बरामद भएको प्रेसर कुकर ललितपुरको लगनखेल र ग्वार्कोमा भेटिएको प्रेसर कुकर बमसँग मिल्छ।
‘राति बम बनाउने र राति नै विभिन्न स्थानमा लगेर राख्ने उनीहरूको योजना थियो,’ एसपी सिंहले भने।
उनीहरुले कहाँबाट विस्फोटक पदार्थ ल्याए भन्ने विषय अनुसन्धानको विषय भएको उनले बताए।
सुकेधारा र घट्टेकुलो बम विस्फोटमा संलग्न भएकाहरूसँग नरेफाँटमा पक्राउ परेकाको फोन सम्पर्क भएकोले पनि उनीहरू सबै योजनावद्ध रूपमा काठमाडौंमा विस्फोट गराउने काममा संयोजन गरिरहेका थिए भन्ने देखिन्छ।
उनीहरुको साथबाट बरामद भएको १० मोबाइल फोन अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले विशेष ब्युरोलाई बुझाएको छ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस