दोहा – कोरोनाको कारण विदेशमा अलपत्र परेका नागरिकहरूको उद्धार उडान गर्ने नेपाल सरकारको निर्णय बमोजिम गएको शनिवार दोहा कतारबाट पहिलो उद्धार उडान मार्फत १४९ जना स्वदेश फर्की सके पछि दोस्रो उद्धार उडानमा ३ जना बच्चासहित ६१ महिला र ८४ पुरुष हिमालयन एयरलाइन्समार्फत गएराति नेपाल उडेका छन् ।
कतारबाट दोस्रो उडानको बारेमा समाचार सङ्कलनका लागि कतारको अन्तर्राष्ट्रिय हमाद एयरपोर्टमा राती ९ बजे पुग्दा केही नेपालीहरू एयरपोर्ट प्रवेश गरी सकेका थिए भने केही गाडिबाट झर्दै थिए । नेपाल जान पाइने भए पछि प्राय हँसिलो मुद्रामा देखिएका थिए ।
नेपाल फर्कँदै गरेका केही यात्रीका एयरपोर्ट प्राङ्गणमा फोटो लिए पनि भित्र पसेर थप फोटो लिने चाहाना पूरा भएको थिएन । यत्तिकैमा ढाकाटोपीमा सजिएर करिब ५० वर्ष उमेर पूगेका एक व्यक्ति नजिकै देखिए । उनीसँग फोटो खिच्ने अनुमति मागेपछि उनी खुलेर बोले । मोरङ जिल्ला घर भएका गोपाल दर्जी नाम गरेका उनी टाउकोको बिरामी भएर सात महिनादेखि औषधि खाई रहेको र थप उपचारको लागि कतार बसाई टुङ्गाएर नेपाल जान लागेको सुनाए ।
एयरपोर्ट भित्र प्रवेश सहज नदेखिए पछि केही समय कुर्नु पर्यो । सोही समयमा नेपाली राजदूतावास दोहा कतारका द्वित्तिय सचिव प्रवीण भट्टराई, नियोगकै भुवन भट्ट, एनआरएनएका मध्यपूर्व संयोजक प्रवीण गुरुङ, युवा संयोजक राज रेग्मी, आइसिसी सदस्य रमेश भट्ट लगायतका व्यक्तिहरूसँग स्नेह मिलन पश्चात् प्रवेश गर्ने अवसर मिल्यो ।
हिमालयन एयरलाइन्समार्फत नेपाल जान लागेका पुरुष र महिलाको लाइन अलग अलग थियो । एयरपोर्टमा त्यतिबेला हिमालयनबाहेक अरू एयरलाइन्सको फ्लाइट थिएन । एयरपोर्ट सुनसान थियो । यात्रुहरूको लाइन तिर फर्कँदै नियोगका कर्मचारीहरूले शुभयात्राको कामना गर्दै गर्दा सबैले नियोगलाई धन्यवाद दिइरहेका थिए । केही बेर यात्रुसँग भलाकुसारी र स्नेह मिलन गरी उनीहरू फर्किसकेपछि उक्त लाइनको बिचमा मिसिएर फरक फरक व्यक्तिसँग कतार छाडनु परेको कारण बुझ्दै जाने क्रममा पिपिई लगाएर लाइनमा बसेका एक व्यक्तिले मुस्कुराउँदै इसाराले हामीलाई आफू तिर बोलाए । उनी दाङका डिल्लीराज लम्साल रहेछन् । मार्चको दोस्रोसाता कम्पनीमा राजीनामा दिएर नेपाल जान बसेका उनले कोरोना र लकडाउनका कारण अनेक समस्या झेल्नु परेको गुनासोको पोको फुकाए ।
यता झापाका भरत चापागाईं पायल्सको रोगले ग्रस्त भएर नेपाल जान लागेको बताए । १ दिन काममा नजाँदा ४ दिनको स्यालरी काट्ने गरेको सम्झँदै उनले जीवनमा देखेको सपना अपुरो रहेको भनी गहभरी आँशु बनाए । अस्पतालको सल्लाहमै आफू ढाडको अपरेशनका लागि नेपाल जान लागेको स्याङ्जाका सूर्य प्रसाद शर्माले बताए । यता सिन्धुलीका वीर बहादुर तामाङले गाडी दुर्घटनामा परे पछि टाउकोमा समस्या परेका कारण नेपाल छुट्टिका लागि जान लागेको बताए ।
समाचार सङ्कलन गरीरहँदा त्यहाँ भएका भलाकुसारी सुनेपछि आफ्ना दुःख हामीलाई सुनाउनेहरू एकाएक बढे । सबैका कुरा सुनेर समाचारमा लेख्न सम्भव थिएन । तैपनि पत्रकारिताको धर्म, उनीहरूको दुःख सुनेर समेटिदिंदा पीडा हल्का हुने ठहर गर्दै सकेसम्म फरकफरक समस्या भोगेकाहरूसँग कुराकानीलाई अगाडि बढाएँ ।
केही दिन पहिले पर्वतको पहिरोमा परी आफ्ना १७ वर्षीय छोरा, श्रीमती र सासू ससुरा गुमाएका बागलुङका बल बहादुर थापाका आँखा रसाईरहेका थिए । मामाघर गएका मुटुका टुक्रा गुमाउनुको पीडा उनको मुहारमा प्रस्ट देखिएको थियो । जनकपुरका आतिप असलम आफू बिरामी भएर छुट्टीमा जान लागेको बताए ।
४ महिना देखि स्यालरी नपाएकी चितवनकी सङ्गीता लम्साल, हेटौंडाकी शान्तिमाया ब्लोन र सिर्जना ब्लोन लगायतले आफैंले ऋण गरी टिकट काटेर नेपाल जान लागेको सुनाए । खोटाङकी ईन्द्रावती परियारसहित उनीहरू एकै कम्पनिमा कार्यरत रहेछन् । बोर्डिङ पास लिन र लकेज गर्न लाइनमा बसेका मध्ये तनहुँका नवराज ढकाल आमाको स्वास्थ्य अवस्थाका कारण १८ महिनामा क्यान्सिल जान लागेको बताए ।
कतारलाई लामो समयदेखि कर्मभूमि बनाएका काठमाडौं गोठाटारका सुमन थापाले आमाको क्यान्सर रोगलाई जित्न खाडीमा सङ्घर्ष गर्दा गर्दै श्रीमतीलाई प्यारालाइसिस भएपछि आफ्नो ढल्न लागेको संसार बचाउने आशामा बाँचेको बताए । मार्चमा कम्पनीमा राजीनामा गरे पनि कोरोनाका कारण आफ्नो पीडा झन् बढेको उनले बताए । केही सपनालाई तिलान्जली दिंदै थापाले ६ बर्षे कतार बसाईलाई टुङ्गाएर जान लागेका रहेछन् । उनी लाइनका अन्तिम यात्री थिए । हामीसँग केही समय आफ्ना दुःख बाँड्न खोजिरहेका उनलाई स्टाफले बोलाएपछि भक्कानिएको स्वरमा हामीबाट टाढा भए । उनलाई हामीले पर सम्म हेरीरह्यौ उनी आँशु पुछ्दै क्षितिजमा बिलिन भए ।
क्याटेगोरी : समाचारट्याग : #breaking