साँझ छिप्पिँदै थियो। ७ बजेतिर उनी घरबाहिर निस्किइन्, दिदी सुनीता भातभान्सा तयार गर्दै थिइन्।
‘दही लिन जान्छु’ पवित्रा यत्ति भनेर निस्किइन्।
‘एकछिन पछि त उनी रुँदै चिच्याउँदै आई’ सुनीता अत्तालिइन्, ‘के भो, कसरी भो।’
पवित्राले दुईहातले अनुहार छोपेकी थिइन्। दिदीको अंगालोमा बेरिएर रोइरहिन्।
‘अब के गर्नु, के भाको, मेरो त होसै उड्यो’ पवित्रा चिच्याइरहिन्। सुनीतालाई के गर्नु कसो भयो।
बहिनीको अनुहार हेरिन्, दाहिने गाला पुत्ताइरहेको थियो।
‘एसिड छ्याप्दिए…’ भक्कानोसँगै पवित्राले भनिन्। अनि सुनीताको होस उड्यो।
पवित्रा कार्की, शुक्रबार बिहान अलिअलि होस् आउँदा कीर्तिपुर अस्पतालमा पल्टिरहेकी थिइन्।
छेउमा दिदी सुनीता सुन्निएका आँखाले उनलाई एकनास हेर्दै थिइन्।
छिप्पिएको उन्माद र पवित्राको कलिलो रुप
मोहम्मद आलम ४८ वर्षका भए। डल्लुमा उनको एउटा झोला बनाउने कम्पनी छ।
करिब पाँच वर्षअघिसम्म पवित्रा आफ्ना दिदीहरूसँग आलमकै कम्पनीमा काम गर्न जान्छिन्।
ओखलढुंगाकी पवित्रा पहिलादेखि नै दिदीसँगै काठमाडौंमा बस्थिन्। खासमा उनको त्यहाँ जागिर त थिएन। दिदीहरूसँग फ्याक्ट्रीमा जाँदै गर्दा उनले काम पनि सिकिन्।
केही समयपछि उनले फेरि पढाइ सुरु गरिन् । र, प्लस टुपछि नै उनी होटल र्याडिसन (क्यासिनो)मा काम गर्न थालिन्। अहिले उनी २२ वर्षमा छिन्।
त्यही बेलादेखि नै मोहम्मदले पवित्रामाथि आँखा गाडिसकेका थिए। फोन गर्ने, पछ्याउने घरमै पुग्नेसम्म गर्थे।
क्यासिनोमा काम गर्ने भएपछि पवित्रा त्यो फ्याक्ट्री जान छोडेको धेरै समय भइसकेको थियो। दिदी सुनीताले पनि त्यहाँ काम छोडिसकेकी थिइन्। तर, चिनजान र भेटघाट भने भइरहन्थ्यो।
‘फोन गरेर धेरै दुःख दिन्थ्यो’ सुनीता भन्छिन् ‘मैले त उसको फोनै नउठा भनेको थिएँ बहिनीलाई । तर, नयाँ नयाँ नम्बरबाट कल गरेर धेरै दुःख दिन्थ्यो।
सुनीता थापा पवित्राकी दिदी हुन्। पवित्रा कान्छी बहिनी। उनीहरूका चार बहिनी छन्।
क्यासिनोमा काम गर्ने पवित्रालाई घरमै लिन अनि छोड्न कहिले गाडी आउँथ्यो, कहिले उनी बाइकमै आउने जाने गर्थिन्।
आफूले मन पराएकी केटी, त्यसरी खुलेआम ‘अरु’को गाडीमा हिँडेको देख्दा मोहम्मद भित्रभित्रै जल्थे।
‘तुरन्तै फोन गरेर अरुसँग किन मोटरसाइकलमा चढेको?’ भनेर थर्काइ हाल्थे।
४८ वर्षे मोहम्मदमा त्यो ‘प्रेम’को आवेग भने थिएन, मात्रै पवित्राको शरीर चाहने यौन कुण्ठा थियो।
कुण्ठाले जलिरहेका मोहम्मदले सोचें, ‘अब यो केटीको अनुहार नै जलाइदिन्छु।’
‘त्यो मान्छेले बहिनीलाई धेरै नै दुःख दिन थालिसकेको थियो’ सुनीता भन्छिन् ‘तेरो रुप छ भनेर होइन, खुब राम्री छु भन्छेस्। दुनियाँको बाइक चढेर हिँड्ने? भन्दै थर्काउने रैछ।’
र, एकपटक पवित्राले जवाफ दिइन् ‘म तेरो स्वास्नी हो? जोसँग जहाँ हिँडे पनि तँलाई के भो?’
त्यसपछि पनि मोहम्मदले पछ्याउन छोडेनन्।
बिहीबार साँझ छिप्पिँदै गर्दा…
लकडाउनपछि पवित्रा लगभग घरमै थिइन्। मोहम्मदले फोन गरेर त्यस्तै दुःख दिइरहेका थिए।
बिहीबार साँझपख सुनीताले भान्सा तयार गर्दैगर्दा पवित्रा ‘दही लिन’ जान्छु भन्दै निस्किइन्।
त्यो बेला पनि मोहम्मदले पछ्याइरहेका थिए। फोन गरेर भनेछन् ‘म पनि यहीं छु, कहाँनेर हो?’ पवित्राले लोकेसन दिइन्।
दही किनेर फर्किंदै गर्दा मोहम्मद बाइक चढेर आए अनि भने ‘म घर छोडिदिन्छु।’
पवित्रा बाइकमा बसिन्। अलिपर घुम्ती थियो। बाइक घ्याच्च रोकियो।
पवित्राको गालामा च्वास्स भयो। एकछिन पछि बेस्सरी पोल्न थाल्यो। मोहम्मद भागिसकेका थिए।
पवित्रा चिच्याउँदै घरतिर दौडिन्।
‘दही लिन गएकी बहिनी त अनुहार पुत्ताउँदै आई’ सुनीताको होस हवासै उडिसकेको थियो। हतार–हतार उनले अर्की दिदीलाई फोन गरिन्। छिमेकी जुटाएर प्रहरीलाई खबर गरे।
प्रहरीले तत्कालै सबैतिर घेराबन्दी गरिसकेको थियो अनि मोहम्मद डल्लुमै भेटिए।
उनलाई प्रहरीले नियन्त्रणमा लियो। खोज्दै जाँदा डल्लुमै भेटिए, मुन्ना मोहम्मद।
प्रहरीे कोठामा पुग्दा, मुन्ना सुतिरहेका थिए, रक्सीले मातेर। एउटा हातमा एसिडका छिटाले जलेका दाग थिए।
प्रहरीले सिसिटिभी फुटेजमा त्यही हुलिया देखेको थियो। त्यसपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लियो।
‘घटना थाहा पाउनासाथ हामी एक्सनमा गइहाल्यौं,’ महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी निरञ्जनदत्त भट्टले भने, ‘एसिड केसमा यत्ति क्विक सक्सेस भएको कमै छ।’
मुन्ना मोहम्मदकै फ्याक्ट्रीमा काम गर्ने कालीगढ हुन्। मोहम्मदले मुन्नालाई भारतबाट झिकाएका हुन्।
पवित्रादेखि जलिरहेका मोहम्मदले मुन्नालाई एसिड हान्न तयार गरे। कारखानाका मेसिन सफा गर्न राखेको एसिड बाँकी थियो।
उनीहरूले खाने ‘गोल्डेनवक’ रक्सीको क्वाटर बोतल थियो, त्यसैमा एसिड मिसाए।
अनि घुम्तीमा पुग्नासाथ पवित्राको अनुहारमै पर्ने गरी छ्यापिदिए।
तर, त्यो बोतलको मुख सानो थियो, ह्वात्तै गएन। बरु केही छिटा फर्किएर मुन्नाकै हातमा रहे।
तर, एसिडका केही छिटाले पवित्राको दाहिने गाला पोल्न थाल्यो।
शुक्रबार बिहान जब पवित्रा कीर्तिपुर अस्पतालको बेडमा ब्युँझिइन्, उनी एकोहोरो रोइरहेकी छिन्। कसैसँग केही बोल्न सकेकी छैनन्।
दिदी सुनीता पनि हतास थिइन्। अस्पतालको बेडमा बहिनीको अनुहार नियालिरहेकी सुनीतालाई केहीबेर पछि स्वयम्भू प्रहरीले फोन गरेर बोलायो।
पवित्रालाई एसिड छ्याप्नेहरू त्यहीं राखिएको छ।
स्वयम्भू प्रहरीले किटानी जाहेरी दिन बोलाएको थियो। प्रहरी कार्यालय जाने बेला सुनीता भन्दै थिइन् ‘बहिनी अब के होली?’
मुस्कान खातुन लिएर पवित्रालाई भेट्न पुगेका समाजसेवी उज्ज्वलविक्रम थापाले सपाट दिए ‘केही हुन्न। पवित्रा पवित्र नै हुन्छिन्। के हुनु केही हुन्न। उपचार हुन्छ, निको हुन्छ।’
थापा उनै समाजसेवी हुन् जसले अहिलेसम्म धेरै एसिड पीडितहरू स्याहारिसकेका छन्।
थापा उनै सामाजिक अभियन्ता हुन् एसिड हान्नुकाे कारण खाेज्ने हाेइन, त्याे ‘एसिड-उन्माद’ मानसिकताको अन्त्य हुनुपर्नेमा जाेड दिन्छन्।
कालो घुम्टोले छोपिएर आएकी मुस्कान खातुनले आफ्नो अनुहार देखाउँदै भनिन् ‘हिम्मत गर्ने हो, रोएर हुँदैन। अब हिम्मत गर्नुस्। यी मेरो अनुहार हेर्नुस् त!’
केही समयअघि वीरगन्जकी १५ वर्षीया मुस्कान खातुनमाथि पनि टोलकै केही छिल्लिएका केटाहरूले एसिड छ्यापिदिएका थिए।
एसिडले जलेको अनुहारमा मुस्काइरहेकी मुस्कानतर्फ हेर्दै पवित्रा अलिकति थामिइन्।
तर, जलेको गालामाथि आँसुका मसिना धारा बग्दैथिए।
स्वयम्भू प्रहरीमा छोडेर फर्किंदै गर्दा दिदी सुनीता भन्दै थिइन्, ‘अलिकति राम्रो अनुहार देखिनेबित्तिकै एसिड हान्ने हो र?’
क्याटेगोरी : समाजट्याग : #breaking,
#hot,
#tag