दाङ्ग – लमही नगरपालिका वडा नम्बर ९ को घोयली गाउँमा स्वच्छ पिउने पानी नहुँदा स्थानिय मर्कामा परेका छन् ।
पूर्वपश्चिम राजमार्ग देखि करिब तिन किलो मिटर उत्तर तर्फ घना जंगलको बिचमा यो गाउँ अवस्थित छ । उक्त गाउँमा दलित जनजाति गरि दश घरपरिवारले बसोबास गरेका छन् । कतै पुर्जावाल जग्गा छन् त् कतै ऐलानी जग्गा । आज भन्दा तिस पैतिस वर्ष अन्य स्थानबाट बसाई सरेर गएका हुन्् । मानिसहरु घना जंगलको विचमा गएर बसोबास गर्न थालेको लामो समय भैसक्दा पनि राज्यको त्यस दुर्गम ठाउँमा ध्यान जान सकेको छैन ।
त्यो घोयली गाउँमा न सडक बाटो छ न बिजुली बत्तिको सुविधा छ न स्वच्छ पिउने पानीको राम्रो व्यवस्था नै छ । ऐलानी फाडेर भएपनि स्थानीयले बस्ने बास र दुई चार कठ्ठा जमिन उघारेका छन । पिउनका लागि स्वच्छ पानी त् पाउन सकेका छैनन् भने सिंचाईको त् झन् कल्पनै नगरौ स्थानिय सुमित्रा नेपालीले भनिन । ऐलानी भएनी जग्गा छ, भएर के गर्नु खेति गर्दा आकासे भर हा,े घर मुनिबाट खोला बग्छ खोलाको पानि हाम्रा जमिनमा लैजाने साधन नहुँदा खेतिपाती भनेको जस्तो उब्जनी नहुने नेपालीको भनाई छ । उब्जनी राम्रै हुन्छ तर सिंचाईको अति नै आवश्यकता छ उनले भनिन । केहि महिना अघि कुवा निर्माणका लागि बजेट आएको थियो तर त्यस क्षेत्रमा पानीको मुहान नहुँदा कुवा सफल हुन् नसकेको स्थानीयले बताए । त्यहाँका स्थानीयलाई बाह्रै महिना पिउने पानीको ठुलो समस्या छ ।
बर्षायाममा पिउने पानीको झनै समस्या छ । वर्खे झरी शुरु भएपछी हामीलाई पिउने पानीको चिन्ता हुन्छ,खोला उर्लेर आउछ, पिउनका लागि बनाएको जरुवा सबै पुर्दिन्छ खोला घट्यो भने जमिन कोट्याएर पानी निकाल्ने अनि त्यही पानी पिउने हो । खोलाको पानी लिनलाई पनि लाइनमा बस्नु पर्छ । अर्का स्थानीय खिमराज नेपालीले भने । चैत्र वैशाखमा झन पानी नपाएर काकाकुल बनेर पानी खोज्नु पर्ने बाध्यता छ । कुहिएको पात पतिङ्गर पन्छाएर पानी निकाल्नु पर्छ । खोलाकै कारण त्यहाँका बालबालिकाहरुलाई विद्यालय जान पनि अत्यन्तै समस्या छ, कतिपय बालबालिका यहि समस्याले गर्दा पढ्न जान मन गर्दैनन ।
जति समस्या पिउने पानीका लागि पाएका छन् त्यति धेरै सडक र बिजुली बत्तिका लागि स्थानीयले दुख पाएका छन् । अरुको गाउँ घरमा बिजुली बत्ति बलेको देख्दा रहर लागेर आउछ । स्थानिय तहमा जनप्रतिनिधि आएको लामो समय भैसक्दा पनि हामीले जनप्रतिनिधि आएको अनुभूति गर्न पाएका छैनौ स्थानिय लोक कुमारी थापाले भनिन । बत्तिको साटो सबैको घरमा सोलार राखेका छन । सोलार बत्तिले पनि बर्खायाममा उज्यालो दिन सक्दैन । त्यस गाउँको विकाशका लागि सम्बन्धित निकायलाई पनि जानकारी नगराएको हैन तर कतैबाट सुनुवाइ हुन्न थापाले भनिन । पूर्वपश्चिम राजमार्ग देखि त्यस घोयली गाउँमा पुग्नलाई सानो गोरेटो बाटो छ ।
रातबिरात मान्छे विरामी भए भने खटियामा बोकेर अस्पताल लैजानुको विकल्प छैन। अहिले गोरेटो बाटोलाई जेसिबी लगाएर थोरै फराकिलो गराउने काम भएको छ ।
क्याटेगोरी : समाचार, प्रदेश ५