Techie IT
×
गृहपृष्ठग्लोबलआयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न

आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न


दोहा – नेपाली व्यवसायी आयुसा श्रेष्ठले कतारमा सञ्चालन गरेको अल दाना ब्युटी सैलुन र आयुषा ब्युटी सैलुनको आयोजनामा तिज विशेष कार्यक्रम–२०२४ सम्पन्न भएको छ । ‘तिज स्पेसल’ लेखिएको केक काटेर शुभारम्भ गरिएको कार्यक्रम शुक्रबार साँझ नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसीसहित कतारमा रहेका महिलाहरूको समुपस्थितमा लालीगुराँस रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

कार्यक्रममा सृष्टि लामा, सृष्टि श्रेष्ठ, बिन्जु श्रेष्ठले स्वागत नृत्य पेस गरे । रेस्मी सेन्चुरी, रोशन अर्याल, इशान रेग्मी, साना महर्जन, सपना घलान, सागर सुनार, बिरेन मादेन र भुवन परियारले आफ्नो गायनले उपस्थितहरुलाई नचाए ।

एलिना लामा, एरिका, मनीषा जिसी बोहोरा शान्ति ओली लगायतका कलाकारहरूले आकर्षक नृत्य पेस गरे । कार्यक्रम आफ्ना भनाइहरू राख्दै पार्लर सञ्चालिका श्रेष्ठले पछिल्लो वर्षबाट आफूले तिज कार्यक्रम मनाउन थालेको बताउँदै सबै चेलीबेटीसँग भेटघाट होस र सामूहिकरूपमा तिज मनाउन सकियोस् भन्ने हेतुले तिज कार्यक्रमको आयोजना गरिएको बताइन् ।

उनले व्यवसायले मात्र सम्बन्ध विस्तार नहुने बताउँदै एक दिन ब्युटीपार्लर बन्द गरेर सबै चेलीबेटीसँग महान चाड तिज मनाउन पाउनु व्यापार भन्दा ठूलो हुने बताउँदै सबैलाई शुभकामना व्यक्त गरिन् ।

प्रमुख अतिथि र सभापति नराखी पूर्ण मनोरञ्जन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको पहिलो चरणलाई अञ्जु सुवेदी बस्नेतले सहजीकरण गरिन् । कार्यक्रम सुचारु भएको केही समयमा नै सञ्चारकर्मी तथा प्रभावशाली सामाजिक व्यक्तित्व मनु खड्काले कार्यक्रमलाई सहजीकरण गरिन् भने कार्यक्रमको अन्त्यमा सञ्चारकर्मी पर्ल लक्ष्मी र गायक अर्यालले सहजीकरण गरेका थिए ।

साँझ ६ बजेबाट शुरु भएको कार्यक्रममा महिला समाजकी अध्यक्ष केसीले शुभकामना मन्तव्य राखेकी थिइन् भने राति १२ बज्दा समेत तिज गीतमा नाच्ने क्रम रोकिएको थिएन ।


क्याटेगोरी : ग्लोबल, मनाेरञ्जन
ट्याग : #Breakig, #hot, #Qatar, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस