Techie IT
×
गृहपृष्ठमनाेरञ्जनकविता : स्वास्नी

कविता : स्वास्नी


उन्नतिको उकालो चढ्नु पर्ने,
समाजमा आफ्नै हाबी बढ्नु पर्ने,
तिम्रो यो अचम्मको सपना,
राम्रो या नराम्रो,
विश्लेषण कहिल्यै गरिन,
बरु सकि नसकी घिसारिरहेँ आफूलाई
उही सपना परिपुर्तिमा,
आखिर तिम्रो सपना पुरा गर्ने बाचाको गाँठो
उही दिन बाँधेको थिएँ,
साक्षी सर्जिमनका अघि ।

पुरा गर्न ती उन्मत्त सपना,
गाउँबाट शहर झरेँ,
त्यति ठुलो शहरले पनि,
तिम्रो खुसीको झोला भर्न नसकेपछि,
म बिचरो खाडीको बाढीमा हेलिएर,
सकुशल पुगेँ एउटा तातो माटोको देशमा,

हो !
त्यो अपरिचित माटोमा,
दिनहरु पिउँदै तातो बालुवामा हर क्षण
आर्जिरहेँ पसिनाको महल,
यसरी बनाएँ तिमीलाई रानी महलको ।

हरेक क्षण हामी नयाँ जन्मन्छौँ  रे,
तिमी नयाँ भयौ या पुरानै रह्यौ त्यो त म जान्दिन,
तर तिम्रा महत्वकांक्षा यति जन्मिए कि,
मैले गन्न सम्म सकिन,
मलाई माफ गरिदिनु !
कहिल्यै भर्न सकिन तिम्रो खुसीको झोली !

हरेस खाएर एक दिन,
बाँकी रहेको बिक्षिप्त मन,
आधा सरो फुलेको कपाल,
धसिएको कन्चट, अनि यो जिर्ण शरीर,
तिम्रै पोल्टोमा खन्याउन खाँतिर,
मोडिए पाइला जन्म भुमी तर्फ!

बिमानस्थलमा उत्रिएँ,
आँखाहरु अधिर तिमीलाई नै खोजी रहेका थिए,
तिमी देखिइनौ,
बरु बेसरी न्यास्रिए झैँ,
ग्वाम्म अँगालो हाल्यो मातृभुमीले,
मिठो पवनले चुम्यो अङ्ग-अङ्ग,
मन पुलकित भयो,
फेरि सम्झिएँ तिमीलाई !

घर भए ठाउँमा पुगेँ,
अजङ्गको महलले बिस्थापित गरिदिएछ,
सानो माटे झुप्रोलाई,
सँघारमा उभिएँ आफ्नै घर झैँ लागेन,
तिमी थिइनौ, संसार थिएन,
मेरो आकाश खस्यो, धर्ती फाट्यो,
खोजी रहेछु तिमीलाई भेटिन्नौ,
रिपोर्ट गरेको छु, पत्ता लाग्दैनौ,
आखिर किन बेखबर छौ ?

भूगोलको एउटा छेउमा,
समृद्धिको मूर्ति कुँदिरहँदा म,
एक्लो हुनुको अकाट्य पीडा बोधबाट
न आफू उम्कन सकेँ,
न तिमीलाई उम्काउन सकेँ
यो कथित अपार्थिबले,
न सुम्सुम्याउन सक्यो,
तिम्रो सुक्सुकाइ रहेको अन्तरमन,
न निभाउन सक्यो,
तिमी भित्र दन्कीरहेको यौवनाग्नि !!

सायद यसैको बदला लिएकी हौली तिमीले,
बाचा पुरा गर्ने नसकेको म लाचार लोग्ने !
लुकेर भागेर कहाँ जितिन्छ र !
सम्मुख आऊ दण्ड दिलाऊ मलाई,
तिम्रो सपनाको खेतीमा खडेरी,
पारिदिएको आरोपमा,
आऊ तिम्रै जित निस्चित छ,
अदालतमा तिम्रै कुरा सुनिन्छ,
मेरी महामयी स्वास्नी !!


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस