काठमाडौँ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अध्यक्षहरुको दोश्रो विश्व भेलाले नेपाल सरकारविरुद्ध मुद्दा हाल्ने केन्द्रको कार्य दुर्भाग्यपूर्ण भन्दै फिर्ता लिन आव्हान गरेको छ ।
भेलाले संघको दशौं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि (डेलिगेट्स) हरु सम्बन्धी विवाद सम्बोधन नै नगरी निर्वाचन समितिले एकपक्षीय रुपमा निर्वाचन कार्यक्रम प्रकाशन गर्ने कामले अदालतको मानहानी भएको ठहर पनि गरेको छ ।
‘यस्तो कार्यले संस्थाभित्र विवाद बढ्दै जानुका साथै अन्ततः संघलाई विभाजनको बाटो तर्फ धकेल्ने खतरा देखिएको छ’, भर्चुअल भेलाको निष्कर्ष छ, ‘त्यसैले अध्यक्ष कुमार पन्त र प्रमुख संरक्षक डा. शेष घलेले सहकार्य गरी डेलिगेट्स सम्बन्धी विवाद समाधान गरी आम सहमतिका आधारमा मात्र निर्वाचन कार्यक्रम अगाडी बढाउन हामी माग गर्दछौं ।’
गैर आवासीय नेपाली संघले स्थापनाकाल देखि नै नेपाल सरकारसंग सहकार्य गर्दै आएकामा अहिले संघको इतिहासमै पहिलोपटक संघका कुनै पनि निकायको औपचारिक निणर्य विना, पंजीकृत सदस्यहरुबाट संकलित शुल्क खर्च गरी एकपक्षीय रुपमा नेपाल सरकार विरुद्ध मुद्दा हाल्ने कार्य दुर्भाग्यपूर्ण र संस्थाको वृहत्तर हित विरुद्ध रहेको ठहर पनि भेलाले गरेको छ ।
राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष तथा विश्व भेला तयारी समिति संयोजक बुद्धि सुवेदीले भने, ‘यसले संस्थालाई थप विभाजित गराउने पनि निश्चित छ । त्यसैले हामी एनआरएनए केन्द्रलाई उक्त मुद्दा फिर्ता लिइ संस्थाभित्र छलफल र संवादका माध्यमबाट समस्याको समाधान गर्न आह्वान गर्दछौं।’
बिचौलिया प्रयोग गरिएको आरोप
शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एनसीसी स्पेनका अध्यक्ष शालिक राम डुम्रेले बिचौलिया प्रयोग गरेर अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्ने समाचारहरु आइ रहेका छन्। यो अत्यन्तै गम्भीर कुरा हो। सत्य, तथ्य के हो? तुरुन्तै सार्वजनिक गर्न माग गरे। उनले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी ‘टिम बद्री’ ले शनिबार ककसको कार्यक्रम प्रकाशित गरेको दावी गरे । “एकै दिन २ ओटा कार्यक्रम किन गर्नु प-यो? अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्ने गरी छलफल गर्न पाइदैन । त्यो बन्द गर्नु पर्छ,” उनले भने।
डुम्रेले अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको बेला विना कुनै सरसल्लाह निर्वाचन कार्यक्रम प्रकाशित गर्नु अदालतको मानहानी भन्दै एकपक्षीय रुपमा निर्वाचन कार्यक्रम अगाडी बढाइएमा त्यसले संस्थालाई विभाजनतिर लग्ने र त्यो मान्य नहुने पनि बताए।
एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले पनि अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न बिचौलिया प्रयोग गरिएको भन्ने आरोपबारे अध्यक्ष पन्तले सत्य तथ्य सार्वजनिक गर्नु पर्ने माग गरे।
एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरले संस्थामा कसैसंग पनि सरसल्लाह नगरेर नेपाल सरकार विरुद्ध मुद्दा हाल्ने निर्णय प्रति कुनै पनि एनसीसीहरु सहमत नभएको बताए। उनले कामचलाउ अध्यक्ष पन्तले प्रमुख संरक्षक शेष घले विरुद्ध व्यक्त गरेको भनाइ अशोभनीय भएको पनि बताए। हालै एक पत्रकार सम्मेलन गरी पन्तले घलेले संस्था कब्जा गर्न खोजेको आरोप लगाएका थिए।
एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीले कामचलाउ अध्यक्ष पन्तलाई अदालत धाउनु भन्दा टेबलमा बसेर समाधान खोज्न आग्रह गरिन्।
यसैगरी एनसीसी क्यानडाका अध्यक्ष दिपक गौतमले आइसीसीले निर्वाचन कार्यक्रम स्थगित गरेर वार्ताको टेबलमा बसेर सबैलाई चित्त बुझ्दो समाधान निकालेर मात्र निर्वाचनमा जानु पर्ने बताए।
बुधबार सम्पन्न भेलाले गैर आवासीय नेपाली संघ अहिले आफ्नो १८ वर्षे इतिहासकै सबै भन्दा कठिन मोडमा उभिएको निष्कर्ष निकाल्दै यो संकटबाट संघलाई निकास दिन संरक्षक परिषद्लाई आवश्यक हरसम्भव सहयोग गर्न एनसीसीहरु तयार रहेको जनाएको छ ।
यसैगरी संरक्षक परिषद्लाई सघाउन सबै सल्लाहकारहरु, हाल कामचलाउ अवस्थामा रहेको आइसीसी तथा संसारभरि रहेका गैरआवासीय नेपाली (एनआरएन) हरुलाई अपिल पनि गरेको छ ।
भेलाले नेपाल सरकार परराष्ट्र मन्त्रालयले ३ मंगसिर २०७८ मा संघलाई एक पत्र लेखी संघको दशौँ महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषदलाई दिन गरेको निर्देशनको स्वागत गरेको छ । गत २४ अक्टोबर २०२१ मा सम्पन्न संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलाले पनि दशौँ महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषद्लाई दिन माग गरेको थियो।
त्यसै गरी ६५ प्रतिशत प्रतिनिधिका सम्बन्धमा वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिहरुलाई मान्यता दिने भन्ने मन्त्रालयको निणर्यको पनि स्वागत गरिएको छ ।
प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको दोश्रो विश्व भेलाका निष्कर्षहरु :
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको दोश्रो विश्व भेला भर्चुएल माध्यमबाट १ डिसेम्बर २०२१ मा भव्यरुपमा सम्पन्न भएको छ। भेलामा संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुका निर्वाचन भएका मध्ये दुइ तिहाइ भन्दा बढी एनसीसी अध्यक्ष, पदाधिकारीहरु तथा नव निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा संघका केन्द्रीय सल्लाहकारहरु कुल आचार्य, यम कुमार गुरुङ (त्रिलोक), विश्व आदर्श पण्डित, एसी शेर्पा, केन्द्रीय उपाध्यक्षहरू सोनाम लामा, मन केसी, पूर्व केन्द्रीय कोषाध्यक्ष हिक्मत थापा, महिला संयोजक भोमा लिम्बु, युरोप संयोजक नारायण आचार्य, एनसीसी अमेरिकाका पूर्व अध्यक्षहरू डा केशव पौडेल तथा सुनील साह, एनसीसी अमेरिकाका पूर्व सल्लाहकार डा यादव पण्डित लगायतका वक्ताले सम्बोधन गर्नु भयो।
विश्व भेला तयारी समितिका संयोजक तथा राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न भेलाले संघको दशौँ महाधिवेशन तथा चुनाव तोकिएको समयमा हुन नसके पछि उत्पन्न परिस्थिति र सम्भाव्य निकासकाबारे व्यापक छलफल गरेको थियो। संघका राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरुको गत २४ अक्टोबर २०२१ मा सम्पन्न पहिलो ऐतिहासिक विश्व भेलाका निष्कर्षहरुको समीक्षा गर्नुका साथै संघको इतिहासमै पहिलो पटक नेपाल सरकार विरुद्ध अदालतमा जाने, सहमति र सहकार्यका लागि पहल गर्नु भन्दा एक पक्षलाई मात्रै फाइदा पुग्ने उद्देश्यले निर्वाचन कार्यतालिका प्रकाशन गर्ने जस्ता कामले संस्थालाई विभाजन तिर लग्ने भन्दै वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए। प्रजातान्त्रिक र पारदर्शी ढंगले गरिएको व्यापक छलफलको आधारमा सर्वसम्मतिबाट पारित उक्त भेलाका निष्कर्षहरु निम्न अनुसार रहेका छन्:
१.नेपाल सरकार परराष्ट्र मन्त्रालयले ३ मंगसिर २०७८ मा संघलाई एक पत्र लेखी संघको दशौँ महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषदलाई दिन गरेको निर्देशनको हामी स्वागत गर्दछौं। गत २४ अक्टोबर २०२१ मा सम्पन्न संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलाले पनि दशौँ महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषद्लाई दिन माग गरेको थियो। त्यसै गरी ६५ प्रतिशत प्रतिनिधिका सम्बन्धमा वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिहरुलाई मान्यता दिने भन्ने मन्त्रालयको निर्णयको पनि हामी स्वागत गर्दछौं।
२. गैरआवासीय नेपाली संघले स्थापना काल देखि नै नेपाल सरकारसंग सहकार्य गर्दै आएको छ। तर संघको इतिहासमै पहिलो पटक संघका कुनै पनि निकायको औपचारिक निर्णय विना, पंजीकृत सदस्यहरुबाट संकलित शुल्क खर्च गरी एकपक्षीय रुपमा, नेपाल सरकार विरुद्ध मुद्दा हाल्ने कार्य दुर्भाग्यपूर्ण र संस्थाको वृहत्तर हित विरुद्ध रहेको हाम्रो ठहर छ। यसले संस्थालाई थप विभाजित गराउने पनि निश्चित छ। त्यसैले हामी एनआरएनए केन्द्रलाई उक्त मुद्दा फिर्ता लिइ संस्थाभित्र छलफल र संवादका माध्यमबाट समस्याको समाधान गर्न आह्वान गर्दछौं। यसैगरी कामचलाउ अध्यक्ष कुमार पन्तले देशको प्रधानमंत्री, संस्थाका प्रमुख संरक्षक, उहाँहरुका धर्म पत्नी लगायत विरुद्ध दिएको सार्वजनिक अभिव्यक्तिले संस्थाको मर्यादा तल झार्ने काम गरेको छ। हामी त्यस्ता आपत्तिजनक अभिव्यक्तिहरुप्रति खेद व्यक्त गर्दै त्यस्तो गतिविधि नदोहो-याउन र पदीय मर्यादाको ख्याल गर्न उहाँलाई सुझाव दिन्छौं।
३. गैरआवासीय नेपाली संघ अहिले आफ्नो १८ वर्षे इतिहासकै सबै भन्दा कठिन मोडमा उभिएको छ। यो संकटबाट संघलाई निकास दिन संरक्षक परिषद्लाई आवश्यक हरसम्भव सहयोग गर्न हामी एनसीसीहरु तयार रहेको जानकारी गराउंछौं। यसैगरी संरक्षक परिषद्लाई सघाउन सबै सल्लाहकारज्यूहरु, हाल कामचलाउ अवस्थामा रहेको आइसीसी तथा संसारभरि रहनु भएका गैरआवासीय नेपाली (एनआरएन) हरुलाई हार्दिक अपिल गर्दछौं।
४. संघको दशौं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि (डेलिगेट्स) हरु सम्बन्धी विवादलाई सम्बोधन नै नगरी निर्वाचन समितिले एकपक्षीय रुपमा ३० नोभेम्वरमा निर्वाचनको कार्यक्रम प्रकाशन गर्ने कामले अदालतको मानहानी भएको हाम्रो ठहर छ। यस्तो कार्यले संस्थाभित्र विवाद बढ़दै जानुका साथै अन्तत: संघलाई विभाजनको बाटो तर्फ धकेल्ने खतरा देखिएको छ। त्यसैले अध्यक्ष कुमार पन्त र प्रमुख संरक्षक डा शेष घलेले सहकार्य गरी डेलिगेट्स सम्बन्धी विवाद समाधान गरी आम सहमतिका आधारमा मात्र निर्वाचन कार्यक्रम अगाडी बढाउन हामी माग गर्दछौं।
५. संस्था संकटमा पर्दा भेला भएर छलफल गर्न पाउने सबै एनसीसीहरुको नैसर्गिक अधिकार हो। तर
पनि यो भेला आयोजना नगर्न दबाब दिने उद्देश्यले विज्ञप्ति प्रकाशित गर्ने, इमेल पठाउने, फोन गर्ने जस्ता कामहरु शोभनीय नभएको यो भेला ठहर गर्दछ। साथै गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुले यस्ता मंच मार्फत सहयोग र सहकार्य गर्नु अत्यन्तै उपयोगी हुने, एक अर्काबाट सिक्न सकिने साथै एनसीसीहरुलाई नै मजबूत बनाउने भएकाले यो भेला भविष्यमा थप यस्तै सम्मेलनहरु आयोजना गर्न सिफारिस गर्दछ।
६. गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको दोश्रो विश्व भेला सफल पार्न सहयोग गर्नु हुने सबै एनआरएनए अभियन्ताहरु, हाम्रो निमंत्रणा स्वीकारेर कार्यक्रममा सहभागी हुनु हुने संघका सबै पदाधिकारी, आदरणीय सल्लाहकार तथा आमन्त्रित अतिथिज्यूहरु, संचारकर्मी मित्रहरु, एनआरएनए अमेरिकाको आइटी टिम लगायत सबैलाई यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको विश्व भेला आयोजक समिति
बुद्धि सागर सुवेदी
संयोजक तथा अध्यक्ष, एनआरएनए एनसीसी अमेरिका
सदस्यहरु :
प्रेम गाहा मगर
अध्यक्ष, एनआरएनए एनसीसी बेलायत
नन्द गुरुङ
अध्यक्ष, एनआरएनए एनसीसी अस्ट्रेलिया
दीपक गौतम
अध्यक्ष, एनआरएनए एनसीसी क्यानडा
शालिक राम डुम्रे
अध्यक्ष, एनआरएनए एनसीसी स्पेन
भवानी तिवारी
अध्यक्ष, एनआरएनए एनसीसी अष्ट्रिया
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष, एनआरएनए कतार
दीपक पुन मगर
अध्यक्ष, एनआरएनए एनसीसी साउथ कोरिया
डा. पुष्पराज भट्टराई
अध्यक्ष, एनआरएनए एनसीसी साउथ अफ्रिका
मिति: ३ डिसेम्बर २०२१
क्याटेगोरी : ग्लोबलट्याग : #breaking,
#hot,
#NRNA