Techie IT
×
गृहपृष्ठकला/साहित्यकविता : तरुणी हरिण

कविता : तरुणी हरिण


धेरै भएको छैन ,
मेरो नजरमा परेको त्यो हरिण जोडी ,
अनि सुनेको तिनका प्रेमालाप पनि !
छोएर परेली जोइ हरिणको ,
पोइ हरिण कबुलनामा गर्छ ,
तिम्रै आँखामा हेरेर बाटो बिराएको हुँ ,
चुमेर तिम्रै अधर ढुन्मुनाएको हुँ ,
अनि बकेर तिम्रै प्रेम बर्बराएको हुँ रात -रातभर !
म तिम्रै कारण सराबी भएको हुँ,
पिएर सराब तिम्रै उपस्थितिको ।
पोथी हरिण मक्ख पर्छे ,
लिएर उसलाई लसक्क लस्किन्छे झाडीतिर !

केही दिन र महिना पछि देख्छु ,
जोइ हरिण एक बाट दुइ हुन्छे
गर्बले देदिब्यमान प्रतित हुन्छे ,
आहा झन् झन् राम्री !
ऊ बालक हरिणलाई चाट्दै
मसक्क मस्किन्छे पोइ हरिणसँग
भर्नु छ उसमा स्निग्ध उन्माद अनि लस्किनु छ ,
गुफाको अँध्यारो कुना तिर !
यति छिटो कहाँ सेलाएको छ र उन्मत्त बैँस उ भित्रको !

तर आज उसले सुरा पिलाउनु परेको छैन,
पोइ हरिण सराबमै ढुन्मुनाएको छ ,
लाग्छ उ तिनपानेमा नुहाएर आएको छ ।
हान्छ हुङ्कारको चिर्पट उसको मुटुको देब्रे कुनामा ,
ढुन्मुनिदै ढल्छे ऊ ,
र उम्लिन्छ पीडाको रक्त कुन्ड आँखाको डिल हुँदै ,
देखेर यो सब !
मन ,मनमनै सोध्छ ,
के सागर आँखाले जन्माएको हो ?

एकाबिहानै अर्को दिन ,
भरेर अलिकति बैँस रौँहरुमा ,
पोइ हरिण निस्किन्छ ओढारबाट ,
भेटेर तरुणी हरिण जङ्गलमा ,
दोहोर्याउँछ उही गीत सुरा सुन्दरीको ,
मसक्क मस्किएर तरुणी हरिण झाडीतिर लस्किनु अघि ,
अबिलम्ब म पुग्नु पर्छ ,
बिथोल्नु पर्छ यो घातक रासलीला र
जोगाउनु पर्छ श्रद्दाको शिर ,
भरोसाको प्राण ,
अझ भनुँ
पोइ , जोइ हरिणको !
बाउ , छोरा हरिणको ,
भलै उसकै आगमनले लखेटेको थियो ,
सराबी हरिणलाई ,
जङ्गलका भट्टी र तरुणी हरिण तिर !

नमिता दवाडी
गोर्खा नेपाल
हाल: न्युजिल्यान्ड
27 / 09/2020


क्याटेगोरी : कला/साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस