Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनएमा मनोनयन दर्ता सुरु, पहिलो दिन आठ जनाको मात्रै उम्मेदवारी

एनआरएनएमा मनोनयन दर्ता सुरु, पहिलो दिन आठ जनाको मात्रै उम्मेदवारी


गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकाअनुसार बिहीबारदेखि मनोनयन दर्ता सुरु भएको छ।

विद्युतीय र भौतिक उपस्थिति दुवै माध्यमबाट मनोनयन दर्ता सुरु भएको हो । जसअनुसार विद्युतीय माध्यमबाट मनोनयन दर्ताको लागि बिहान ६ देखि साँझ ६ बजे तथा भौतिक उपस्थितिमा संघको बालुवाटारस्थित कार्यालयमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय छुट्याइएकोमा सो समयमा पहिलो दिन जम्मा ८ जनाले मात्रै उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाले जानकारी दिए । उनका अनुसार मनोनयन दर्ता शुक्रबार र शनिबार पनि जारी रहनेछ ।

पहिलो दिन मुख्य पद अध्यक्षमा कसैको पनि उम्मेदवारी दर्ता भएको छैन । यस्तै उपाध्यक्षमा एक जनाको तथा सचिवसहितका पदाधिकारीका केही पदमा उम्मेदवारी दर्ता भएको छ ।शनिबार उम्मेदवारी दर्ता सम्पन्न भएपछि असोज २८ गते विद्युतीय माध्यमबाट उम्मेदवारी पेश गर्नेको हकमा प्रस्ताव र समर्थकसहित अनिवार्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ। त्यसपछि उम्मेदवारको सूची प्रकाशित गर्नेसहित दाबी विरोधको समय छु्ट्याउँदै अन्तिम नामावली प्रकाशित गरेर अक्टोबर १९ मा मतदान गर्ने कार्यक्रम रहेको छ ।

एनआरएनएको अध्यक्षमा हालसम्म ५ जनाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यकारी अध्यक्ष बद्री केसीसहित, आरके शर्मा, महेश श्रेष्ठ, रविना थापा र विनय अधिकारीले उम्मेदारी घोषणा गरेका छन् । जसमा मुख्य प्रतिस्पर्धा शर्मा, केसी र श्रेष्ठबीच हुने देखिएको छ । यी उम्मेदवारहरु आ–आफ्नो टीमसहित मैदानमा उत्रिने तयारीमा छन् ।

शर्माको सचिवालयका अनुसार टीमसहित उनले शुक्रबार मनोनयन दर्ता गराउने तयारी छ । यस्तै केसी र श्रेष्ठले पनि सम्भव भएसम्म शुक्रबारै उम्मेदवारी दर्ताको तयारी गरेका छन् । उनीहरु पनि टीमलाई अन्तिम रुप दिन जुटिसकेका छन् । निर्वाचन समितिले यसअघि नै उम्मेदवार बन्न चाहिने योग्यताबारे विवरण सार्वजनिक गरिसकेको छ। जसअनुसार अन्तिम मतदाता नामावलीमा उम्मेदवारको नाम समावेश भएको हुनुपर्नेछ । एनआरएनएमा अन्तिम मतदाता अर्थात डेलिगेटको संख्या ४२२७ जना रहेको छ ।

डेलिगेट सूचीमा नाम भइसकेपछि उम्मेदवार बन्न चाहेको खण्डमा गैरआवासीय नेपाली संघको विधान, निर्वाचन नियमावली, निर्वाचन आचारसंहिता, निर्वाचन समितिले जारी गरेको आचार संहिता एवं निर्वाचन समितिले समय समयमा जारी गर्ने सूचना पूर्ण रुपमा परिपालना गर्न एवं तोकिएको विद्युतीय माध्यमबाट हुने मतदान एवं प्राप्त मत परिणाम स्वीकार गर्न मन्जुर गरी उम्मेदवारले लिखित प्रतिवद्दता पत्र मनोनयन पत्रका साथ दाखिल गनुपर्नेछ ।

यस्तै संघको विधानको दफा ५ को उपदफा ५।१ मा उल्लेख भए बमोजिम गैर आवसीय नेपालीको हैसियत कायम रहेको सम्बन्धमा सम्बन्धित राष्ट्रिय समन्वय परिषद्बाट सो देशमा २ वर्ष भन्दा बढी बसोबास गरेको प्रमाणीत हुने कागजात अनिवार्य पेश गर्नुपर्नेछ । ढुंगानाका अनुसार उम्मेदवारले कुनै पनि राजनैतिक, जातीय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण नगरेको स्वघोषणा निवेदन पत्र मनोनदय पत्र साथ पेश गर्नुपर्नेछ । उल्लेखित पद धारण गरेको भए सो पद त्याग गरेको आधिकारिक प्रमाण उम्मेदवार मनोनयन फारमका साथ पेश गर्नुपर्नेछ । यसैगरी तोकिए बमोजिमको शुल्क एवं मनोनयन दस्तुर बुझाएको निस्सा मनोनयन पत्रका साथ पेश गर्नुपर्नेछ ।
चालु अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु वा पदाधिकारीहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकोले राष्ट्रिय समन्वय परिषद्बाट चयन भएको प्रतिनिधिभित्र छानिएको हुनुपर्नेछैन । तर गैर आवासीय नेपालीको हैसियत कायम रहेको हुनुपर्नेछ । यसैगरी तोकिए बमोजिमको शुल्क एवं मनोनयन दस्तुर बुझाएको निस्सा मनोनयन पत्र साथ पेश गर्नुपर्नेछ । कुनै पनि पदमा उम्मेदवार बन्नको लागि राष्ट्रिय समन्वय परिषद्बाट महाधिवेशन प्रतिनिधि छानिएको हुनुपर्नेछ भने चालु अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु वा पदाधिकारीहरु स्वत महाधिवेशन प्रतिनिधि हुने भएकोले राष्ट्रिय समन्वय परिषद्बाट चयन भएको प्रतिनिधिभित्र छानिएको हुनुपर्नेछैन ।

यसैगरी भर्खर गठन भएका राष्ट्रिय समन्वय परिषद्को तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुले अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी पदमा उम्मेदवारी दिन अयोग्य मानिनेछ । यस्तै अन्तर्राष्ट्रिय महाधिवेशन अघि सम्पन्न राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा कुनै पनि पदमा पराजित वा विजयी उम्मेदवार यो निर्वाचन प्रयोजनको लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकारी पदमा उम्मेदवार बन्न अयोग्य मानिने पनि ढुंगानाले बताए । संघको अध्यक्ष वा पदाधिकारी सोही पदमा लगातार २ पदावधि भन्दा बढी निर्वाचित हुन योग्य नमानिने पनि संघको भनाइ छ ।

यस्तै निर्वाचन समितिका सदस्यहरु पनि उम्मेदवार हुने योग्य हुनेछैनन् । यसैगरी राष्ट्रिय समन्वय परिषद् गठन नभएका मुलुकका व्यक्तिहरु कुनै पनि पदमा उम्मेदवार हुन योग्य मानिनेछैन । अध्यक्ष पदको उम्मेदवारको लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य पदमा एक कार्यकाल ९कम्तिमा एक वर्ष काम गरेको० पूरा गरेको हुनुपर्ने संघको भनाइ छ । यस्तै क्षेत्रीय संयोजकको हकमा एउटै देशबाट लगातार २ पटक भन्दा बढी निर्वाचित हुन अयोग्य मानिने हुँदा त्यस्तो उम्मेवदारको उम्मेदवारी स्वीकार नगरिने संघको भनाइ छ । तर अन्य देशबाट उम्मेदवारी नपरेमा यो प्रावधान लागू नहुने ढुंगानाले बताए ।

यसैगरी क्षेत्रीय महिला र युवा संयोजक तथा उपसंयोजकको उम्मेदवारको हकमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य वा कुनै पनि राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य पदमा एक कार्यकाल पूरा गरेको वा कम्तिमा एक पटक अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्नेछ । यस्तै युवा उपाध्यक्ष, युवा संयोजक, क्षेत्रीय युवा संयोजक, क्षेत्रीय युवा उपसंयोजकको उम्मेदवार अन्तर्राष्ट्रिय महाधिवेशन शुरु भएको दिन सम्म ४० वर्ष उमेर नकाटेको हुनुपर्नेछ । उमेर ४० वर्ष नकाटेको पुष्टि हुने आधिकारिक कागजात समेत मनोनयन पत्र साथ पेश गर्नुपर्नेछ । संघका अनुसार दोश्रो पुस्ताका गैर आवासीय नेपाली संयोजकको हकमा नीज विदेशमा माध्यामिक विद्यालय तहसम्म अध्ययन गरेको र अन्तर्राष्ट्रिय महाधिवेशन शुरु भएको दिनसम्म ३० वर्ष नकाटेको हुनुपर्नेछ । उमेर ३० वर्ष नकाटेको पुष्टि हुने आधिकारिक कागजात मनोनयन पत्र साथ पेश पर्ने ढुंगानाले बताए ।

चुनावका लागि कैयन एनआरएनएहरु काठमाडौँ आइसकेका छन् भने अन्य पनि आउने क्रममा छन् । यो पटक दुई हजारको हाराहारीमा एनआरएनएहरु काठमाडौँमै भेला हुने अपेक्षा गरिएको छ ।संघको उम्मेदवार बन्नका लागि अध्यक्षले ५ लाख रुपैयाँ दस्तुर बुझाउनपर्नेछ भने उपाध्यक्षले ३ लाख ५० हजार, महिला उपाध्यक्षले १ लाख ७५ हजार, महासचिवले ३ लाख, उपमहासचिवले २ लाख ७५ हजार, सचिवले २ लाख ५० हजार, महिला सचिवले १ लाख २५ हजार, कोषाध्यक्षले २ लाख ५० हजार, सहकोषाध्यक्षले २ लाख दस्तुर बुझाउनुपर्नेछ । यसैगरी महिला सहकोषाध्यक्षले १ लाख, महिला संयोजकले ८७ हजार ५००, क्षेत्रीय संयोजकले १ लाख ७५ हजार, क्षेत्रीय उपसंयोजकले १ लाख २५ हजार, क्षेत्रीय महिला संयोजकले ६२ हजार ५०० र क्षेत्रीय महिला उपसंयोजकका उम्मेदवारले ५० हजार दस्तुर बुझाउनुपर्नेछ । यस्तै युवा क्षेत्रीय संयोजकले ६२ हजार ५००, क्षेत्रीय युवा उपसंयोजकले ५० हजार र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजकले पनि ५० हजार रुपैयाँ उम्मेदवारी शुल्कबापत बुझाउनुपर्नेछ । सबै उम्मेदवारले उम्मेदवारी दस्तुर बैंक खातामार्फत बुझाउनुपर्ने पनि प्रमुख निर्वाचन अधिकृत ढुंगानाले बताए ।

निर्वाचनबाट अध्यक्षसहित ७४ जना पदाधिकारी निर्वाचित हुने उनले बताए । उनका अनुसार महाधिवेशनबाट अध्यक्षसहित उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १ महिला संयोजक १ र युवा संयोजक १ जना निर्वाचित हुनेछन् ।

यसैगरी क्षेत्रीय संयोजक प्रत्येक क्षेत्रबाट १–१ जना गरी ६ जना, क्षेत्रीय उपसंयोजक १२ जना निर्वाचित हुनेछन् । जसमा अफ्रिका क्षेत्रबाट २ र अन्य क्षेत्रबाट ३ जनाका दरले निर्वाचित हुने विधानमा उल्लेख छ । यस्तै क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय युवा संयोजक ६ जना, क्षेत्रीय युवा उपसंयोजक पनि ६ जना निर्वाचित हुनेछ । संयोजक र उपसंयोजक उनीहरु सबै प्रत्येक क्षेत्रबाट १–१ जनागरी ६ जना निर्वाचित हुने भएका हुन् । यसैगरी दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ जना निर्वाचित हुने विधानमा व्यवस्था रहेको छ । विश्व सम्मेलनले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

टीम फाइनल गर्दै आरके शर्मा
गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनका लागि अध्यक्षका उम्मेदवार आरके शर्माले आफ्नो टीम निर्माणलाई तिव्रता दिएका छन् । जसअनुसार उनले विभिन्न राजनीतिक पार्टीमा आस्था राख्नेहरुलाई समेटेर टीम निर्माण गरिरहेका हन् । एनआरएनएको निर्वाचनमा आरकेसहित डा बद्री केसी, महेश श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा हुने देखिएकै बेला करिब ४० देशका एनआरएनएसँग अन्तरक्रिया गरेर काठमाडौँ फर्किएसँगै शर्माले टीम निर्माणदेखि आवश्यक तयारीलाई तीव्रता दिएको उनी निकट एक अभियन्ताले बताए ।

पहिलो पटक मध्यपूर्वले नेतृत्व पाउनुपर्ने लबिङ गरिरहेका शर्माले उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहितका पदहरुमा टीममा रहने उम्मेदवारहरुको नाम टुंगो लगाएका हुन् । अन्य उम्मेदवारहरु पनि छिट्टै टुंगो लाग्ने शर्माका सचिवालयको भनाइ छ । शर्माले कांग्रेस कम्युनिस्ट सबैलाई समेटेर समावेशी टीम निर्माण गरेको बताइएको छ । एनआरएनएको विधानअनुसार ६ जना उपाध्यक्ष र १ जना युवा उपाध्यक्ष रहने व्यवस्था रहेको छ । जसअनुसार शर्माको टिमबाट ७ उपाध्यक्षले निर्वाचन लड्ने भएका छन् । शर्माको टीमबाट उपाध्यक्ष पदमा खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ , राजु रेग्मी, विजय मोक्तान, अभिमानसिंह बस्नेत, शशीकान्त पौडेल र युवा उपाध्यक्षमा अब्दुल बासिद उम्मेदवार हुने भएका छन् ।


यस्तै उपमहासचिव र कोषाध्यक्षका प्रत्यासी पनि टुंगिएको छ । जसअनुसार शर्माको उम्मेदवारीलाई समर्थन गर्दै उपमहासचिवमा कतारका प्रविन गुरुङ र कोषाध्यक्ष पदमा युएईका ठाकुर ढुंगाना प्रत्यासी बनेका छन् । शर्माको टीमबाट उम्मेदवार बनेकाहरु धेरै कांग्रेस निकटका छन् । हालसम्म उपाध्यक्षमा टुंगिएका उम्मेदवारमा खगेन्द्र न्यौपाने र गोविन्द श्रेष्ठ बाहेक कांग्रेस निकटका हुन् । यस्तै उपमहाचिवका उम्मेदवार प्रविन गुरुङ पनि कांग्रेस निकट मान्छिन् । यसैगरी कोषाध्यक्षका उम्मेदवार ढुंगाना कम्युनिष्ट हुन् । सबै पक्ष बिचार समूह समेटेर टीम बनाउने क्रम चलिरहेको भन्दै शर्मा निकट एक अभियन्ताले समावेशी टीमले चुनाव जित्ने माहोल बनिरहेको दाबी गरे ।

शर्मा टीममा महिला उपाध्यक्ष र एकजना उपमहासचिव पद खाली छ । यस्तै सचिवको उम्मेदवार पनि टुंगो लगाउन बाँकी छ । सहकोषाध्यक्ष, महिला संयोजक, उपसंयोजक, युवा संयोजक, उपसंयोजकसहितका उम्मेदवारहरु छिट्टै टुंगो लगाएर चुनावी अभियानलाई सशक्त बनाउने शर्माको तयारी छ । एनआरएनएबीच लोकप्रिय रहेका उम्मेदवार शर्माले ‘२४ महिना २४ बाचा’ नारासहित प्रतिबद्धतापत्र ल्याएका छन् । अध्यक्षको प्रत्यासीमध्ये तुलनात्मक रूपमा उनको पक्षमा बढी माहोल देखिएको छ ।

शर्माको बाचापत्रमा बैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने, समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसंग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जस्ता प्रतिबद्धता जनाएका छन् । यस्तै श्रमिकको आर्थिक स्थिति सुधार्नका लागि काम गर्ने योजना पनि शर्माले आफ्नो बाचापत्रमा समेटेका छन् ।

१० औं महाधिवेशनबाट पूर्वअध्यक्ष शेष घले समर्थित ठूलो समूह असन्तुष्ट भएपछि बिनोद कुँवरको नेतृत्वमा छुट्टै कार्य समितिको घोषणा गरिएको थियो । विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा जुन १८, २०२३ मा दुवै पक्षबीच सहमति गराउने काममा समेत शर्माको मुख्य भूमिका रहेको थियो । तर पछिल्लो समय चार बुँदामा समेटिएको सहमति कार्यान्वयनमा समस्या देखिएको छ । तर शर्माले यो महाधिवेशनलाई एनआरएनएहरूको एकताको महाधिवेशन बनाउन पहल गरिरहेका छन् ।


क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस