एजेन्सी – भारतसहित समग्र दक्षिण एशियामा कोरोनाका नयाँ संक्रमितको संख्या तिव्र रुपमा बढेको छ । सक्रिय संक्रमणमा फ्रान्सलाई उछिनेर भारत विश्वकै चौथो स्थानमा आइपुगेको छ । यहाँ ९२ हजार २ सय ४४ जनामा सक्रिय संक्रमण छ । सक्रिय संक्रमित, निको भएका र मृतकको संख्या समेत जोड्दा भारतको कूल संक्रमित संख्या १ लाख ८६ हजार ३ सय २१ हुन्छ । यसमध्ये ८८ हजार ८ सय ८ जना निको भएका छन् भने ५ हजार २ सय ६९ जनाको मृत्यु भइसकेको छ ।
यी देश शीर्ष तीनमा
पछिल्लो आँकडाअनुसार सबैभन्दा धेरै बिरामी अमेरिकामा छन् । यहाँ ११ लाख ७८ हजार ७ सय ७९ जना सक्रिय संक्रमित अर्थात् बिरामी अवस्थामा छन् । कूल १८ लाख १९ हजार ७ सय ९२ मा कोरोना देखिएकोमा ५ लाख ९२ हजार २ सय ४४ जना उपचारपछि ठिक भएका छन् भने १ लाख ५ हजार ६ सय ३४ को मृत्यु भएको छ ।
दोस्रो स्थानमा ब्राजिल छ । यहाँ २ लाख ६७ हजार ७ सय ४२ जना सक्रिय संक्रमित छन् । कूल ५ लाख १ हजार ९ सय ८५ जनामा संक्रमण देखिकोमा २ लाख ५ हजार ३ सय ७१ जना निको भए, २८ हजार ८ सय ७२ जनाको मृत्यु भयो । तेस्रो स्थानमा रुस आउँछ । जहाँ २ लाख २९ हजार २ सय ६७ जनामा संक्रमण छ । कूल ४ लाख ५ हजार ८ सय ४३ संक्रमितमध्ये १ लाख ७१ हजार ८ सय ८३ जना निको भए, ४ हजार ६ सय ९३ जनाको मृत्यु भयो ।
पाकिस्तान शीर्ष १० मा
दक्षिण एशियाकै अर्को राष्ट्र पाकिस्तान पनि सक्रिय संक्रमित संख्यामा शीर्ष १० मा आइपुगेको छ । पाकिस्तानमा सक्रिय संक्रमित ४२ हजार ७ सय ४२ छन् । कूल ६९ हजार ४ सय ९६ जनामा संक्रमण देखिएकोमा २५ हजार २ सय ७१ जना निको भए, १ हजार ४ सय ८३ जनाको मृत्यु भयो ।
सक्रिय संक्रमित संख्यामा एघारौं स्थानमा बंगलादेश छ । यहाँ, ३६ हजार ७ सय २२ जनामा सक्रिय संक्रमण छ । कूल ४७ हजार १ सय ८३ जनामा कोरोना देखिएकोमा ९ हजार ७ सय ८१ जना निको भए, ६ सय ५० जनाको मृत्यु भयो ।
नेपालमा संक्रमित थपिँदैं
नेपालमा पनि कोरोना भाइरसका संक्रमित थपिदैंछन् । आइतबार १ सय ६६ जनामा संक्रमण देखिएसँगै कूल संक्रमितको संख्या १ हजार ५ सय ७२ पुगेको छ । यसमध्ये २ सय २० जना निको भएका छन् भने ८ जनाको मृत्यु भयो । १ हजार ३ सय ४४ जना अहिले पनि बिरामी अवस्थामा छन् ।
विश्वभर कोरोना संक्रमितको कूल संख्या ६२ लाख २ सय ४ छ । यसमध्ये २७ लाख ६१ हजार ८ सय ८७ जना निको भए । ३ लाख ७१ हजार ७ सय ४७ जनाको मृत्यु भयो । पछिल्लो आँकडाअनुसार ३० लाख ६६ हजार ५ सय ७० जना बिरामी अवस्थामा छ । – वल्र्डोमिटर
क्याटेगोरी : समाचारट्याग : #breaking,
#corona