Techie IT
×
गृहपृष्ठसमाचारगण्डकी प्रदेश सरकारले अब आफ्नै क्रिकेट मैदान बनाउने, टुरिजमसँगै प्रदेशलाई स्पोर्टस् हब पनि बनाउने उद्देश्य

गण्डकी प्रदेश सरकारले अब आफ्नै क्रिकेट मैदान बनाउने, टुरिजमसँगै प्रदेशलाई स्पोर्टस् हब पनि बनाउने उद्देश्य


पोखरा — आफ्नै लगानीमा प्रदेश सरकारले अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने भएको छ । टुरिजम सँगसँगै गण्डकी प्रदेशलाई स्पोर्टस् हब पनि बनाउने उद्देश्य अनुरुप प्रदेश सरकारले क्रिकेट मैदान तयार पार्न थालेको हो ।

पोखरा २२ पशुपतिघाटमा करिबन १२३ रोपनी जग्गामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने छ । क्रिकेट मैदानको जग्गा प्राप्तिका लागि झण्डै २ वर्ष लागेको थियो । गत असारमा डिपिआर तयार पार्न काठमाडौंको बिआरएस सोलुसनलाई जिम्मा दिइएको थियो । अहिले डिपिआर पनि तयार भई सकेको छ ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले प्रदेश सरकारको प्राथमिकतामा परेको योजना अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदान तयार हुँदा प्रदेशबासीले गौरव गर्न लायकको हुने बताए । ’योजना त अब प्रदेशको प्राथमिकता प्राप्त योजना हो । अन्र्तराष्ट्रिय स्तरको खेलमैदान भनेपछि बजेट धेरै नै लाग्छ । पूर्वाधार बनाउनु प¥यो सुरुमा अनि खेलमैदानका पूर्वाधार बन्नु प¥यो,’ उनले भने ।

मैदानको लागि डिपिआरको काम सकिई सकेको छ । तर, काम सुरु हुनु अघि जग्गा संरक्षण गर्नुपर्ने देखिएको उनले सुनाए । नदीबाट जग्गा संरक्षण हुनुपर्छ । नदीबाट जग्गा कटान हुन नदिने पहिला जग्गा संरक्षणको कामलाई अघि बढाइने उनले सुनाए ।

क्रिकेट मैदानको लागि प्रदेश सरकारले पहिलो चरणमा २ करोड रुपैया छुट्याएको छ । ‘अहिलेको हाम्रो बजेट भनेको २ करोड रुपैयाँको हो । २ करोडलाई पहिलो प्राथमिकतामा केलाई राख्ने र नपुग रकम प्रदेश सरकार स्रोत संकलनको लागि लागेको छ,’ उनले भने ।

प्रवक्ता काफ्लेले क्रिकेट मैदानको लागि मुख्यमन्त्रीसहित मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयले पटक पटक जग्गाको डिपिआर बन्नु अघि नै जग्गाको अवलोकन र मैदानको लागि छलफल विमर्श गरि रहेको बताए । ‘मैदाको विषयमा छलफल, विमर्श भई रहेकै हो । नगरपालिकासहित धेरै पटक छलफल विमर्श भई सकेको छ,’ उनले भने ।

डिपिआर तयार पारि सकेपछि काम सुरुआत भई सकेको मान्नुपर्ने उनले सुनाए । ‘अब भयो भन्ने नै हो । डिपिआर गरेपछि काम सुरु हुने हो । यो वर्ष केही मात्र काम हुन्छ । जति बजेट छ त्यति मात्रै काम हुन्छ,’ उनले भने, ‘थप कामको लागि आगामी वर्ष स्रोत जुटेपछि ३ देखि ४ वर्षभित्रमा सक्ने गरि बजेट संकलन हुन्छ ।’

भौतिक पूर्वाधार सुविधा सम्पन्न, पूर्वाधार भन्दा पनि सुविधासम्पन्न खेल मैदान बन्नको लागि त १ अर्ब ६० करोड रुपैयाँ लाग्ने लागत स्टिमेट आए पनि पहिलो चरणमा क्रिकेट मैदानको लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । ‘त्यो भनेको १० वर्ष पनि लाग्न सक्छ । किनभने सबै सुविधा सम्पन्न दशरथ रंगशाला अझैंसम्म पनि सुविधा सम्पन्न हुन सकेको छैन । पोखरा रंगशाला अझैंसम्म सुविधासम्पन्न हुन सकेको छैन,’ प्रवक्त काफ्लेले भने, ‘१५÷२० वर्षदेखि लगानी भई रहेको छ । अझैं पनि केही कम्पोनेन्ट बाँकी छन् । त्यसरी हेर्ने हो भने त समय लाग्ला । नत्र भने खेल खेल्न र खेल सञ्चालन गर्न मिल्ने बनाउन ३ देखि ४ वर्ष लाग्छ । त्यतिभित्रै सकिन्छ ।’

प्रवक्ता काफ्लेले पोखरा रंगशाला भित्रको क्रिकेट मैदान भए पनि थप मैदानको पनि आवश्यक पर्ने हुँदा क्रिमेट मैदान तयार पार्न लागिएको सुनाए । पोखरा रंगशाला भित्रको मैदा व्यवस्थित पार्ने जिम्मेवारी प्रदेश सरकारको पनि रहेको र प्रदेश सरकारले आफ्नो जिम्मेवारी बहन गर्ने उनले सुनाए । ‘के हुन्छ भने राष्ट्रिय स्तर, अन्तर प्रदेशभित्रका प्रतियोगिता राख्दा । एउटा त प्रतियोगिताको लागि अभ्यास गर्दा दुई वटा खेल स्टेडियम नभईकन कुनै पनि खेल हुँदैन,’ उनले भने, ‘भलिबल एक ठाउँमा खेलेर, कही सेमिफाइनल प्राक्टिस गराउने भने नमिल्दो रहेछ । त्यसकारण एकभन्दा बढी स्टेडियम कोर्ट रंगशाला नजिक नजिक चाहिन्छ । त्यो आवश्यकता नै हो । किनभने दुई ठाउँमा सेमिफाइनल चलायो । फाइनल खेल अर्को दिन गर्न पाइयो ।’

३, ४ वटा टिमलाई कम्पिपिटसन गराउँदा पनि अर्को टिमलाई प्राक्टिस गराउन पाइने हुँदा वैकल्पिक मैदान आवश्यक रहेको उनको जिकिर छ । ‘अर्को टिमलाई खेलाउँदा पाइ परेको हुन्छ खेल सुरु भई सकेको हुन्छ । ऊ त प्राक्टिस गरेर आउन पाउने भयो नि त अर्को रंगशाला भयो भने । यस्ता धेरै प्रयोजन हुन्छन् क्या एक भन्दा बढी रंगशाला भयो भने,’ उनले भने ।

पोखरा रंगशाला पनि प्रदेश सरकारको संरक्षण गर्नुपर्ने दायित्व रहेको बताउँदै उनले स्तरोन्नतिदेखि पूर्वाधार थप्नुपर्ने बताए । रंगाशाला हुँदाहुँदै पनि अर्को रंगशालाको पनि आवश्यकता देखेर पोखरा रंगशाला भित्रको अर्को रंगशालाको संरक्षण विकास हुनै पर्ने उनले बताए । पोखरा रंगशाला संरक्षण गर्ने प्रदेश सरकारको गर्ने नीति रहेको उनले सुनाए ।

अहिले मैदान निर्माणको लागि टेन्डर भई सकेको छैन । टेन्डरको लागि पहिला बजेट सुनिश्चित गर्नु पर्ने भएकाले त्यसको लागि वातावरण प्रभाव मुल्यांकन (इआइए) लगायतका प्रक्रिया अघि बढाइएको बताए । उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयसँग समन्वयमा काम अघि बढेको उनले सुनाए ।

मैदान निर्माणको काम अघि बढाउन कोभिडले पनि टेन्डरको लागि प्रभाव पारेको छ । धेरै स्रोत साधन स्वास्थ्य मै खर्चिनु पर्ने र आवश्यक पर्ने रकम विनियोजन गर्न गाह्रो भएकाले काममा ढिलाई भई रहेको उनले बताए । स्थलगत अवलोकनको लागि प्राविधिक बारम्बार जान सहज नभएकाले पनि गाह्रो परेको उनले सुनाए । ‘यस्ता धेरै कुराले प्रभाव पारेका छन् । अब लगत्तै टेन्डर हुन्छ । प्रक्रियामा छौं,’ उनले भने ।

यता पोखरा रंगशाला भित्र बन्न लागेको क्रिकेट मैदानको लागि भने गत साल छुट्याइएको २ करोड रुपैयाँ फ्रिज भएको थियो । यो आर्थिक वर्षमा क्रिकेट मैदानको लागि २५ लाख छुट्याइएको छ । अहिले पनि क्रिकेट मैदानको लागि टेन्डर हुन सकेको छैन ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस