Techie IT
×
गृहपृष्ठराजनीतिराजीनामाको दबाबकाबीच प्रधानन्यायाधीशले आफ्नो इजलासबाट एकैदिन पाँच मुद्दामा दिए यस्तो आदेश

राजीनामाको दबाबकाबीच प्रधानन्यायाधीशले आफ्नो इजलासबाट एकैदिन पाँच मुद्दामा दिए यस्तो आदेश


काठमाडौँ

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले आफ्नो इजलासबाट पाँच मुद्दामा आदेश जारी गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका थिए। त्यहीमध्ये आफ्नो एकल इजलासबाट उनले उक्त पाँच मुद्दाको आदेश जारी गरेका हुन्। ​

उनले एउटा मुद्दा तामेलीमा राख्ने आदेश, एउटामा निवेदन फिर्ता, दुइटामा कारण देखाउ आदेश र एउटामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेका हुन्।

अरू न्यायाधीश भने इजलास बसेका छैनन्। प्रधानन्यायाधीशबारे धारणा बनाउन उनीहरू छलफलमा जुटेका छन्।

उनले आफूसहित दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भर श्रेष्ठ लगायत पाँच जनाको पूर्ण इजलास तोकेका थिए। तर संवैधानिक इजलास भने अरू न्यायाधीश प्रधानन्यायाधीशबारे धारणा बनाउन छलफल गर्न जुटेकाले बस्न सकेन। उनीहरूले हिजो प्रधानन्यायाधीशको राजीनामा माग गरेका थिए।

मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए। उक्त छलफलमा राणाले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताएका थिए। कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने राणाको अडान सुनेपछि न्यायाधीशहरूले थप छलफल गरेका थिए।

यसअघि मंगलबार नै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आह्वान गरेको थियो। राणाले राजीनामा नदिए देशभरि आन्दोलन गर्ने बारले चेतावनी दिएको छ।

न्यायाधीशहरूले उनलाई मार्गप्रशस्त गर्न सुझाए पनि राणाले राजीनामा नगर्ने अडान लिएका थिए। पछिल्लो दुई दिनदेखि राणाले तोकेको इजलासमा नबसेका सर्वोच्चका न्यायाधीशहरू बुधबार पनि इजलास बहिस्कार गरेका हुन्।अन्नपुर्ण टाइम्स


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस