Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेस प्रदेश २ अधिवेशनः भोली मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस प्रदेश २ अधिवेशनः भोली मनोनयन दर्ता, बुधबार निर्वाचन


काठमाडौँ

नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्तासहितका कार्यक्रम छ । काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा मंगलबारबाट हुने तालिका छ ।

सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश २ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन । महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा दोहो¥याउँदै पदाधिकारीसहित केन्द्रीय कार्यसमिति सदस्यमा युवाको बाक्लो उपस्थिति गराइसक्दा प्रदेश २ मा अधिवेशनको तयारी गरिएको हो ।

कांँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६ र ७ पुसमा प्रदेश २ को अधिवेशन गर्ने निर्णय गरेपछि सर्लाहीमा पनि प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गराउने तयारी सुरु भएको हो ।

प्रदेश महाधिवेशन अन्तर्गत जनकपुरमा मंगलबार मतदाताको नामावली, उम्मेदवारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशनलगायतको कार्यक्रम छ भने बुधबार मतदानको कार्यक्रम छ ।

मंगलबार बिहानसम्म सर्लाहीबाट प्रदेश क्षेत्रको मतगणना सम्पन्न गरेर प्रदेश महाधिवेशनको मतदाता नामावलीमा नाम समावेश गराउनुपर्ने सर्लाही काँग्रेसीलाई बाध्यता छ ।

सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेश क्षेत्र क को मावि धोविनिया वा प्रावि धनकौलमा तथा ख को मावि गोडैता अधिवेशन सम्पन्न भएको छ । प्रदेश क्षेत्र अन्तर्गत क मा अभिन्दन सहनीको सभापतित्वमा पदाधिकारीसहित प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि भएको क्षेत्रीय अधिवेशनमा अमरेशकुमार सिंह पक्षको प्यानल नै हारेपछि यसपटक उनीहरूले उम्मेदवारी नै दिएनन् । ‘क’ मा श्यामकुमार कार्की , रामबाबु उप्रेती, कुबेरबहादुर कार्की, दिपेन्द्र कोइरीलगायत १७ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, ’ख’ प्रदेश अधिवेशनमा पनि अमरेश सिंह पक्षले उम्मेदवारी नदिएपछि अशोककुमार सिंह सभापति रहेको क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । हरेक प्रदेश क्षेत्र अधिवेशनबाट १७ जना प्रदेश महाधिवेशन प्रतिनिधि तथा १ प्रदेश क्षेत्र सभापतिसहित १८ जनाका दरले प्रदेश महाधिवेशनमा मतदाता हुनेछन् भने सभापतिबाहेक अन्य प्रतिनिधिले उम्मेदवारसमेत बन्न पाउनेछन् ।

प्रदेश क्षेत्र अधिवेशनले ७ सदस्यीय कार्यसमिति समेत चयन गर्नेछ । त्यस्तै प्रदेश महाधिवेशनमा यसअघि क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय सभापतिले समेत मतदान गर्न पाउनेछन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश महाधिवेशनमा उम्मेदवारसमेत बन्न पाउनेछन् ।

सर्लाहीबाट यसअघि चारवटै क्षेत्रबाट निर्वाचित क्षेत्रीय सभापतिसहित २६ जनाको दरले १०४ जना तथा प्रदेश क्षेत्र अधिवेशन सम्पन्न भएमा हरेक प्रदेश क्षेत्रबाट १८ जनाको दरले आठ वटाबाट १४४ जना गरी २४८ जना मतदाता प्रदेश महाधिवेशनमा सहभागी हुनेछन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस