Techie IT
×
गृहपृष्ठराजनीतिगठबन्धनले तालमेलको मोडालिटी आज तय गर्ने

गठबन्धनले तालमेलको मोडालिटी आज तय गर्ने


काठमाडौं -सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा सहकार्य र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको गठबन्धनको बैठकले आपसी मतभेद पन्छ्याउँदै चुनावमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको हो ।

गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो । तर, निष्कर्षमा भने पुग्न सकेन । बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने ? कुन आधारमा गर्ने रु भन्नेबारे छलफल भएको थियो ।

उनीहरूबीच पाँचदलीय सत्ता गठबन्धनमा रहेका दलहरूबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति गरे पनि चुनावी तालमेलको मोडलबारे सहमति जुट्न सकेन् ।

चुनावी तालमेलको मोडालिटीबारे मंगलबार बस्ने बैठकमा टुंगो लगाउने उनीहरूको तयारी छ । मंगलबार बस्ने बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘आजको बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । अब चुनावी तालमेलको मोडालिटीबारे भोलि बस्ने बैठकमा निर्णय हुन्छ,’ उनले भने ।

आपसी मतभेद पन्छाउँदै चुनावमा सहयोग
पाँच दलीय सत्ता साझेदार गठबन्धनले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् । गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण नेताकार्यकर्तालाई आह्वान गरेका छन् ।

उनीहरूले व्यापक सहभागितमा आगामी स्थानीय तहको निर्वाचन सफल पार्न गठबन्धनका उम्मेदवारलाई मत दिई विजयी बनाउनसमेत अनुरोध गरेका छन् । शीर्षनेताहरूले परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको उल्लेख गर्दै यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमान्यतामा आधारित समाजावादको रक्षा गर्र्दै नेपालको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाको कठिनाइ हटाउँदै तिनका आवश्यकता पूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका हुन् ।

अपिलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

अघिल्लो निर्वाचनको हैसियत हेरेर सिट बाँडफाँट :अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले सोमबार कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताए ।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उनको भनाइ छ । एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ । अहिले गठबन्धनमा पछि उम्मेदवार कसरी टुङ्ग्याउने भन्ने तरिकाका बारेमा छलफल भइरहेको उनले बताए ।
उनले उम्मेदवार छनोटको तरिका तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गरे । “गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ”, अध्यक्ष नेपालले भने, “उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ, ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ ।” नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दल बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उनको सुझाव छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #सत्तारूढ पाँच दलीय गठबन्धन

तपाईको प्रतिक्रिया दिनुहोस