काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता र पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ ।
संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख प्रतिपक्षी दलदलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो । निवेदनमा कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दल भएको दावी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख प्रतिपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेको छ । यसै बेला कांग्रेसले आफू नै प्रमुख प्रतिपक्षी दल भएको दावीसहित सेवा सुविधा माग गरेको हो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको पार्टी प्रतिपक्षी दल हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षी दलको मान्यताका लागि सभामुखलाई नै निवेदन दिइसकेको छ । संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐन अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्दछ ।
प्रमुख प्रतिपक्षी दलको नेतालाई पारिश्रमिक बाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा अन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधा बापत मासिक २५ हजार ६ सय ८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्डघर, सवारीका लागि इन्धन सुविधा, मोविल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता र यात्रा बिमा लगायतका सुविधा प्राप्त हुन्छ ।
यता नेपाली कांग्रेसको शेखर कोईराला पक्षको बैठकमा पार्टीको भूमिकामाथि प्रश्न उठाइएको छ । आइतबार काठमाडौंमा बसेको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थनका बारेमा प्रश्न उठेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेस संस्थापन इतर पक्षका नेता चन्द्र भण्डारीले काँग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको बताएका छन् । उनले पार्टी कार्यकर्ता, मतदाता र नेताहरुमा नै कांग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल गरिएको बताए ।
‘कांग्रेस किन कन्फ्युजनमा छ रु किन स्पष्ट दृष्टिकोण लिएर हिंड्ने शक्तिहरु छैनन् भन्ने कुराको प्रश्न आम कार्यकर्तामा उठ्न थालेको छ’ उनले प्रश्न गरे, ‘फिनी हराइसक्यो अझै गहुँका कुरा गर्ने रु’ काँग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आशमा बस्ने हो की प्रतिपक्षमा बस्ने हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवश्यक्ता रहेको भण्डारीले बताए ।
‘कांग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु की के पाउँछु भनेर हिँड्ने त्यही हो काँग्रेसको इतिहास रु त्यसका लागि काँग्रेस लडेको होरु यी तमाम प्रश्नहरुको बारेमा जवाफ दिनको लागि बैठक बसेका हौँ’, उनले भने, ‘कसैलाई आघात, अपमान, असहज बनाउनको लागि बैठक बसेको होइन ।’ सांसद भण्डारीले बैठकमा कांग्रेसले आफ्नो इतिहास बिर्सिनु नहुने भन्दै अरुलाई अपमान गर्न, असहज बनाउनका लागि बैठक नबसेको स्पष्ट पारे । भेलामा नेता डा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु, प्रदेश सभापति, जिल्ला सभापतिलगायत नेताहरुको उपस्थिति थियो ।
नेमकिपाको पनि दाबी
यता सभामुखलाई नै प्रतिपक्षी दलको मान्यताका लागि निवेदन दिइसकेको नेपाल मजदुर किसान पार्टीले प्रमुख प्रतिपक्षी दलको भूमिका आफुले पाउनुपर्ने जिकिर गरेको छ । नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले संघीय संसदमा प्रमुख प्रतिपक्ष दलमाथि आफूहरुको दावी कुनै सुविधा पाउने नियतले नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलको दाबी सरकारी सुविधा पाउनको लागि नभएको उनको भनाइ छ ।
४९औं पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पार्टीले लेनदेनको नभई सिद्धान्तको आधारमा चल्ने बताए । पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपालाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने जिकिर गरे ।
क्याटेगोरी : राजनीतिट्याग : #breaking,
#नेपाली कांग्रेस