काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सुख्खा बन्दरगाह निर्माणको काम तीन वर्षभित्रै सकिने बताएका छन् । सोमबार दोधारा चाँदनी १ स्थित सुख्खा बन्दरगाह निर्माण स्थलमा पुगेर उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।
सुख्खा बन्दरगाह भारत सरकारले निर्माण गर्ने विषयमा छिट्टै सम्झौता हुने पनि प्रधानमन्त्री दाहालले बताए । उनले सम्झौतामै तीन वर्षभित्रै निर्माण सम्पन्न हुने उल्लेख भएकाले तोकिएकै समयमा काम सम्पन्न हुने बताए ।
‘सुख्खा बन्दरगाह बनाउने प्रक्रियाको सुरुवात मैले नै गरेको हो,’ सुख्खा बन्दरगाह निर्माण स्थल अवलोकनका लागि दोधारा चाँदनी पुगेका दाहालले भने, ‘यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’
प्रधानमन्त्री दाहालका अनुसार सुख्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन सकिएको छ । बन्दरगाह निर्माणपछि दोधारा चाँदनी वा सुदूरपश्चिमको मात्रै नभई सिंगो देशकै विकासमा योगदान पुग्ने उनले बताए ।
यस्तै, त्रिदेशीय साझेदारीको रणनीतिका रुपमा भारत र चीनको विकासबाट लाभ लिन सक्नुपर्ने उनले बताएका थिए । ‘हामी त्यही लाभ लिने उपायको खोजीमा छौं,’ उनले भने । यस क्रममा प्रधानमन्त्रीले महाकाली नदीमा निर्माणाधीन पक्की पुलका बारेमा पनि जानकारी लिएका छन् ।
पुलको दुवैतर्फ निर्माणाधीन बाँधका विषयमा केही समस्या भएकाले यसको समाधान गर्न तत्काल मन्त्रिपरिषद्बाट निर्णय गरिने उनले बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सुरु हुने औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको उद्घाटनका लागि महेन्द्रनगर पुगेका प्रधानमन्त्री दाहालले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाको पनि निरीक्षण गर्ने कार्यक्रम छ । यही कार्यक्रम अन्तर्गत उनले सुख्खा बन्दरगाह निर्माण स्थलको निरीक्षण गरेका हुन् ।
क्याटेगोरी : राजनीतिट्याग : #प्रचण्ड