दोहा – पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ आगामी विहिबार देखि कतारमा समेत प्रदर्शन हुने भएको छ ।
गत ७ नोभेम्बर देखि मध्यपूर्वका यूएई, बहराइन र कतारमा एकैसाथ प्रदर्शन हुने भनिएको भए पनि केही प्राविधिक समस्याले कतारमा स्थगित गरिएको थियो ।
दीपसंचार मिडिया संग संक्षिप्त कुराकानी गर्दै फिल्मका कार्यकारी निर्माता रमेश ढकाले भने, ‘कतारका लागि सम्पूर्ण तयारी पूरा गरेका थियौं, तथापि केही प्राविधिक त्रुटि भयो । अन्ततः त्यो पनि समाधान भएको छ । अब १४ नोभेम्बर देखि प्रदर्शन हुन्छ ।’
नायक बिजय बरालले निर्वाह गरेको भुमिका पूर्णबहादुरले दर्शकको मन मात्रै जितेको छैन, भावविह्वल नै गराएको छ । विभिन्न मिडिया र सामाजिक संजालमा कमाएको चर्चाले कतारवासी नेपालीहरूलाई निकै उत्सुक बनाएको थियो । यद्यपि कतारमा स्थगन भएको खबरले निराशा बनाएको थियो ।
११ दिनमा झण्डै २१ करोडको व्यापार गरेको फिल्ममा बागलुङको गाउँको परिवेश, त्यहाँको समाज व्यवस्था, रहनसहन, अझ गहिरो गरी दलितहरूको जीवनस्तर तथा विभेदको कथा समेटिएको छ ।
जुहारी गाउने प्रचलन, केटी भगाउने चलन, रुढिबादी परम्परा, अशिक्षा, गरिबी, अज्ञानता, सोझोपनमा रुमल्लिएर बाँचेका दलितहरू लगायतका अति यथार्थ र संवेदनशील मुद्दाहरू फिल्मले उठान गरेको छ । फिल्ममा प्रयोग भएका गीतका शब्दहरू समयानुकूल र वेदनाका कथा अर्थात् गन्धर्वहरूले गाउँदै आइरहेका मर्मस्पर्शी गाथाहरूको शैलीमै प्रयोग भएको छ ।
विजय बरालको संवादहीन, आवाजविहीन भव्य र सशक्त अभिनयले दर्शकलाई रुवाइरहन्छ । विशेषत: बुढेसकालको चरित्रमा उनी झन् अब्बल लाग्छन् । पूर्णबहादुर (विजय बराल), बाटुली (अन्जना बराइली), विजयका प्रिय साथीहरू बिरे (मुकुन भुसाल) र माइला (बुद्धि तामाङ), मास्टर (भोलाराज सापकोटा), कमल (प्रकाश सपुत), स्वयम् केसी (बाल कलाकार), देशभक्त खनाल, शंकर आचार्य, सुभास गजुरेल, माओत्से गुरुङ, सरिता साहहरूको अब्बल अभिनयले फिल्म तारिफयोग्य बनेको छ ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल र प्रकाश सपूतको मूख्य अभिनय छ । सँगै, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको पनि अभिनय देख्न पाइन्छ ।
गन्धर्व समुदायको कथामा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा बाबुछोराको सम्बन्ध, छोराको सफलताका लागि बाबुले गरेको संघर्षको कथा भनिएको छ ।
फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी छन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
क्याटेगोरी : मनाेरञ्जन, विशेष रिपोर्ट, समाचार
ट्याग : #breaking, #hot, #कतार विशेष